लगातार छ कारोबार दिन घटेको नेप्से परिसूचकमा मंगलबार भने सुधार देखिएको छ। कारोबार हुने साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर गएको छ।
मंगलबार नेप्से ९.२४ अंक बढेर २५२२.६६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.७२ अंक, फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले बढेको छ।
नेप्से बढेपनि कारोबार रकम भने झण्डै ७५ करोडले घटेको छ। मंगलबार ३४१ स्टकको ४८ हजार ३४१ पटकको कारोबारमा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँबराबरको ७६ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार नेप्सेमा ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको थियो।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सोलु हाइड्रोपावरको १३ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो भने शिवम् सिमेन्टको साढे १३ करोड र आँखु खोला जलविद्युत कम्पनीको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने एक प्रतिशतले घटेको छ।
प्रकाशित: १६ भाद्र २०८३ १५:४३ मंगलबार