कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार परिसूचक नेप्से ३१.५० अंकले घटेको छ । बुधबार पनि घटेको नेप्से बिहीबार घटेर २९२२.६३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ६.७१ अंक, फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ।
कारोबार रकम पनि करिब १६ अर्बमा सीमित भएको छ । बुधबार १६ अर्ब ४४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३१८ स्टकको १ लाख ६८ हजार ५९४ पटकको कारोबारमा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको ३ करोड ६८ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार ट्रेड टावर र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ। भुगोल इनर्जी डेभलपमेन्ट कमपनीको शेयरमूल्य भने ७.१० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीको १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७५ करोड र हिमालयन डिष्टिलरीको ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित: १५ श्रावण २०८२ १६:१९ बिहीबार