साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ।
मंगलबारदेखि ओरालो लागेको बजारले बुधबार पनि सोही लय पछ्याएको हो।
यस दिन नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा झरेको छ। समग्र बजार मापन गर्ने नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स ८.३२, फ्लोट इन्डेक्स ३.२४ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.९४ अंकले घटेका छन्।
परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ। मंगलबार २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बुधबार खुम्चिएर १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ।
दिनभर ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर १ लाख १५ हजार ५५० पटक खरिदबिक्री भएका छन्।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये १२ वटामा रातो बत्ती बलेको छ। म्युचुअल फन्ड उपसमूहको परिसूचक मात्र सामान्य बढेको छ।
व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४० प्रतिशतले ओरालो लागेको छ। यस्तै, वित्त उपसमूह २ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
बजार घटे पनि सालपा विकास बैंकका लगानीकर्ताले भने उच्च नाफा कमाएका छन्। सो बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता ७८ रुपैयाँ ४० पैसाले बढेर ८६२ रुपैयाँ ४० पैसा पुगेको छ।
यसैगरी, नेसनल हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, कालिका पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ८.४७ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा बुधबार रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ। कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यसपछि आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको र नेसनल हाइड्रोपावरको साढे ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
प्रकाशित: २७ फाल्गुन २०८२ १५:४९ बुधबार