अर्थ

नेप्से फेरि घट्यो, कारोबार रकममा भने वृद्धि

नेप्से परिसूचक बिहीबार फेरि घटेको छ । बुधबार दोहोरो अंकको वृद्धि भएपनि बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.०८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंकले घटेपछि समग्र नेप्से प्रभावित बन्यो।  

कारोबार रकम भने बुधबारको तुलनामा बिहीबार बढेको छ। बिहीबार ३२० स्टकको ५० हजार ४३७ पटकको कारोबारमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ४ अर्ब ६८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

बिहीबार दरमखोला हाइड्रो इनर्जी र माबिलुङ्ग इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। दरमखोला आजदेखि करोबारमा आएको हो भने माबिलुङ्गको यो तेस्रो दिनको कारोबार हो।  उपकार लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने १० प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको शिवम् सिमेन्ट्को ३० करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।  

१३ उपसमूहमध्ये बिहीबार २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। अन्य उपसमूहहरुको गिरावटदर पनि १ प्रतिशतभन्दा कम रहेको छ।

प्रकाशित: २० कार्तिक २०८२ १५:५३ बिहीबार