अर्थ

छब्बिस सय विन्दुबाट ओर्लियो नेप्से, कारोबार रकम पनि घट्यो

कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उल्लेख्य गिरावट आएको छ। रकम पनि घटेको छ ।  

आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेर २५९५.१० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.९६ अंक, फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले घटेपछि समग्र नेप्से प्रभावित बन्यो ।  

आइतबार कारोबार रकम पनि करिब ५ करोडले घटेको छ। ३४५ स्टकको ७० हजार ५७६ पटकको कारोबारमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार नेप्सेमा ४ अर्ब ५७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

आज एसवाई प्यानल नेपालको शेयर ६२ रुपैयाँ २० पैसा बढेर सकारात्मक सर्किट लेभलमा ६८४ रुपैयाँ ८० पैसामा कारोबार भएको छ। १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ९.८३ प्रतिशत र ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ। सिन्धु विकास बैंकको शेयरमूल्यमा भने दोहोरो अंकको गिरावट आयो ।  

कारोबार रकमका आधारमा शीष स्थानमा रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाको १३ करोड ५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बलेफी हाइड्रोपावर पब्लिकको करिब १२ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड रुपैयाँको कारोबार भयो।  

१३ उपसमूहमध्ये आइतबार म्युचुअल फण्ड उपसमूहको परिसूचकमात्र बढेको छ । बाँकी सबै उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित: ६ पुस २०८२ १५:४४ आइतबार