साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घट्दै बजार बन्द भएको छ। साताको पहिलो दिन आइतबारदेखि सुरु भएको ओरालो क्रम मंगलबार पनि निरन्तर रह्यो।
आइतबार २६.५१ अंकले घटेको नेप्से सोमबार ४.२८ अंकले झरेको थियो। कारोबार रकम भने पछिल्लो दिनहरूमा क्रमशः घटिरहेको देखिन्छ। सोमबार ४ अर्ब ७१ करोड बराबरको सेयर कारोबार हुँदा मंगलबार झर्दै ४ अर्ब ४८ करोडमा सीमित भयो। आइतबार ७ अर्ब ८ करोड बराबरको ठूलो कारोबार भएको थियो।
मंगलबार ३२४ स्क्रिप्सका १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ रुपैयाँमा खरिद–बिक्री भए। नेप्से परिसूचक सामान्य अंकले कमजोर भए पनि ६ कम्पनीका सेयरले सकारात्मक सर्किट हिट गरे। सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माविलुङ इनर्जी र बुंगल हाइड्रो यस दिन सर्किट लेभलमा उक्लिए।
त्यस्तै, ग्रीन भेन्चर्सका लगानीकर्ताले भने सबैभन्दा ठूलो घाटा बेहोरिरहेका छन्। कम्पनीको सेयर मूल्य मंगलबार ९.८५ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यस दिन कम्पनीको ३१ करोड रुपैयाँ बराबरको कारोबार भयो। माउन्टेन इनर्जीको २२ करोड, नगदी ग्रुपको १६ करोड, ग्रीन भेन्चर्सको ११ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १० करोड बराबरको कारोबार भएको छ।
सामान्य रुपमा बजार मिश्रित देखियो। कारोबारमा आएका स्टक्समध्ये १२५ कम्पनीको सेयर मूल्य बढ्दा ११९ कम्पनीको घट्यो। १३ स्टक्स स्थिर रहे। सूचकको हिसाबले ८ समूहको उप–सूचक उकालो लाग्दा पाँच समूह नकारात्मक रहे।
प्रकाशित: १६ मंसिर २०८२ १५:४० मंगलबार



