बजार परिसूचक नेप्से सोमबार २९ सय विन्दु नजिक पुगेको छ । लगातार पाँचौ कारोबार दिन बढेको नेप्से सोमबार २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार सेन्सेटिभ इण्डेक्स ४.४६ अंक, फ्लोट इण्डेक्स १.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक बढेको छ।
नेप्से बढेपनि कारोबार रकममा भने ५ अर्बभन्दा बढीको गिरावट आएको छ । आइतबार करिब साढे २१ अर्बको शेयर खरिदबिक्री भएको बजारमा सोमबार १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँबराबरको मात्र कारोबार भयो । आज ३११ स्टकको १ लाख ३८ हजार ८२८ पटकको कारोबारमा ३ करोड ५६ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ९ प्रतिशतले बढेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँबराबरको शेयर करोबार भएको छ। हिमालयन रि इन्स्योरेन्सको ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो भने बुटवल पावर कम्पनीको साढे ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशत, विकास बैंक, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएका कम्पनीमध्ये १५३ कम्पनीको कारोबारमा वृद्धि भएको छ भने ९६ कम्पनीको कारोबार घटेको छ ।
प्रकाशित: ५ श्रावण २०८२ १५:३० सोमबार