मुलुकमा कृषिजन्य वस्तुको पर्याप्त उत्पादन नहुँदा विदेशबाट आयात भइरहेको अवस्थामा बागमती प्रदेशमा कृषि बाली लगाउने क्षेत्रफल क्रमश घट्दै गएको छ। खाद्यान्न तथा तरकारी बाली लगाएर उत्पादन बढाउनुपर्ने भए पनि खेती गर्ने क्षेत्रफल घटेको हो।
नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन ‘बागमती प्रदेशका आर्थिक गतिविधि’ अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) लगाउने कृषि उपजले ढाकेको भू–क्षेत्रको क्षेत्रफल ५.८ प्रतिशतले घटेको छ।
समीक्षा वर्षमा धान बालीले ढाकेको क्षेत्रफल २.९ प्रतिशतले, गहुँ बालीले ढाकेको क्षेत्रफल ५.० प्रतिशतले, कोदो बालीले ढाकेको क्षेत्रफल ५.१ प्रतिशतले, मकै बालीले ढाकेको क्षेत्रफल ६.६ प्रतिशतले, फापर बालीले ढाकेको क्षेत्रफल १६.१ प्रतिशतले र जौ बालीले ढाकेको क्षेत्रफल २५.६ प्रतिशतले घटेको छ।
कृषियोग्य जमिनको घडेरीकरण, युवा वैदेशिक रोजगारमा जाँदा जग्गा बाँझो रहने प्रवृत्ति लगायतका कारण क्षेत्रफल घटेको हुनसक्ने कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताए। ‘ठूलो कृषि फार्म सञ्चालन गर्नेहरूले पनि कानुनी झन्झटका कारण जग्गा पाउन सकेका छैनन्’, महानिर्देशक सञ्जेलले भने, ‘खाली रहेका जमिनमा खेती गर्न स्थानीय तहले सहजीकरण गर्नुपर्छ।’
आफ्नो जमिन भएकाले खेती नगर्ने र ठूलो फार्म विकास गर्न चाहानेले कानुनी जटिलताले जग्गा पाउने अवस्था नरहेको उनले बताए। ‘कृषिमा व्यावसायीकरण गर्न सकेन बाँझो जमिन कम हुँदै जान्थ्यो’, सञ्जेलले भने।
आलु बालीले ढाकेको क्षेत्रफल ११.९ प्रतिशतले, तेलहन बालीले ढाकेको क्षेत्रफल १९.८ प्रतिशतले, दलहन बालीले ढाकेको क्षेत्रफल २४.५ प्रतिशतले र भटमास बालीले ढाकेको क्षेत्रफल २६.२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष पनि कोदो बालीले ढाकेकोे क्षेत्रफल ७.० प्रतिशत र जौ बालीले ढाकेको क्षेत्रफल १४.२ प्रतिशतले बढेको थियो भने धान बालीले ढाकेको क्षेत्रफल १.१ प्रतिशत, मकै बालीले ढाकेको क्षेत्रफल ०.२ प्रतिशत, गहुँ बालीले ढाकेको क्षेत्रफल ९.४ प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफल ८.१ प्रतिशतले घटेको थियो।
कृषि पेसाको व्यावसायीकरण तथा आधुनिकीकरणमार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा उत्पादन घटेको हो। खेतीयोग्य जमिनको खण्डीकरण, बाँझो राख्ने तथा घडेरीमा परिणत हुने क्रम बढेसँगै खेतीयोग्य जमिनको उपलब्धता घट्दै गएको हुनाले कृषियोग्य जमिनको संरक्षण गरी उत्पादन बढाउनु पर्ने चुनौती छ।
कृषि क्षेत्रको व्यावसायीकरणको लागि पहुँचमार्ग विकास गर्नुपर्ने देखिन्छ। बाली तथा पशु बिमामार्फत कृषकलाई हुने क्षति न्यूनीकरणको लागि बिमा प्रारम्भदेखि भुक्तानीसम्म प्रभावकारीरूपमा व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको छ। आयात गरिएको तरकारी तथा फलफूलको कारण किसानहरूले नेपालमा उचित मूल्य पाउन सकेका छैनन्। उत्पादनसँग प्रतिस्पर्धा बढाई उत्पादन बढाउनुपर्नेछ।
कृषि पूर्वाधारको विकास, प्राविधिकको सहज उपलब्धता, उन्नत बिउ तथा मल, सिँचाइ, कृषि कर्जा तथा अनुदान लगायत कृषकलाई आवश्यक सहायता प्रभावकारी रूपमा उपलब्ध गराउनुपर्ने छ।
खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी (१३.१ प्रतिशत) र भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम रहेको छ। तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी (१९.८ प्रतिशत) र भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (१.८ प्रतिशत) रहेको छ। फलफूलले ढाकेको क्षेत्रफलमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (२८.६ प्रतिशत) र मकवानपुर जिल्लाकोे हिस्सा नगन्य रहेको छ।
यसैगरी मसला बालीले ढाकेको क्षेत्रफलमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (२३.९ प्रतिशत) रहेको छ भने भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (०.३ प्रतिशत) रहेको छ।
क्षेत्रफल मात्र नभएर उत्पादन पनि गिरावट आएको छ। समग्र कृषि बालीमध्ये खाद्य तथा अन्य बालीको उत्पादन ६.५ प्रतिशतले घटेको छ। गतवर्ष सो उत्पादन ४.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा कोदो उत्पादन ५.२ प्रतिशतले बढेको छ।
अर्कोतर्फ सोही अवधिमा धान उत्पादन १.१ प्रतिशतले, मकै उत्पादन ५.० प्रतिशतले, फापर उत्पादन ५.१ प्रतिशतले, गहँु उत्पादन १८.५ प्रतिशतले र जौ उत्पादन ३२.६ प्रतिशतले घटेकोे छ। गत वर्ष गहुँ उत्पादन ०.६ प्रतिशत, धान उत्पादन ०.८ प्रतिशत, जौ उत्पादन ५.५ प्रतिशतले बढेको थियो भने मकै उत्पादन ०.३ प्रतिशत, कोदो उत्पादन ३.१ प्रतिशत र फापर उत्पादन ८.७ प्रतिशतले घटेको थियो।
समीक्षा वर्षमा आलु उत्पादन ८.३ प्रतिशतले, भटमास उत्पादन १२.३ प्रतिशतले, तेलहन बालीको उत्पादन २१.० प्रतिशतले र दलहन बालीको उत्पादन २७.२ प्रतिशतले घटेको छ। गत वर्ष आलु उत्पादन १३.३ प्रतिशतले र तेलहन बालीको उत्पादन २४.५ प्रतिशतले वृद्धि भएको थियो भने दलहन बालीको उत्पादन ११.४ प्रतिशतले र भटमास उत्पादन १८.५ प्रतिशतले घटेको थियो।
आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशमा भएको खाद्य तथा अन्य बालीको उत्पादनमा आलु उत्पादनको हिस्सा ३४.० प्रतिशत, मकै उत्पादनको हिस्सा ३०.२ प्रतिशत र धान उत्पादनको हिस्सा २२.९ प्रतिशत रहेको छ। कुल कृषि उत्पादनमा बागमती प्रदेशको खाद्य तथा अन्य बालीको हिस्सा ६१.१ प्रतिशत रहेको छ।
स्थानीय सरकारको पहलमा बागमती प्रदेशका पहाडी जिल्लामा बाँझो जमिनलाई नगदे बालीका लागि व्यवस्थित रूपमा उपयोग गर्न सके कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व दीर्घकालीन रूपमा वृद्धि हुने सम्भावना रहेको अध्ययनले देखाएको छ।
प्रदेशमा संघीय राजधानीबाहेक बनेपा, धुलिखेल, नारायणघाट, हेटौडाजस्ता उच्च जनसंख्या रहेका सहरहरू अवस्थित हुनुका कारण प्रशोधित खाद्यान्न, तरकारी, फलफूल, माछा, मासुलगायतका वस्तुहरूको लागि बजारको व्यापक सम्भावना रहेको छ। जडीबुटी तथा रैथाने बालीहरूको संरक्षण र प्रवद्र्धन गर्दै प्रांगारिक उत्पादनमा वृद्धि गरी आन्तरिक र बाह्य बजारमा बिक्री गर्ने सम्भावना रहेको छ।
प्रकाशित: ३ मंसिर २०८२ ०८:४२ बुधबार