अर्थ

विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा

विद्युत् व्यापारमा नेपाललाई करिब साढे चार अर्ब फाइदा भएको छ । नेपालले भारतबाट खरिद गरेको विद्युत् भन्दा नेपालबाट निर्यात हुने बिजुली चार अर्ब ५४ करोड रुपैयाँ बढी रहेको छ । अधिकांश वस्तुमा नेपालले व्यापार घाटा व्यहोरिरहेको अवस्थामा आर्थिक वर्ष २०८१/८२मा विद्युतमा नेपालले खरिदको तुलनामा बिक्री धेरै गरेकाले नफा देखिएको हो ।

२०८१/८२मा नेपालबाट १७ अर्ब ४६ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा बढी हो। आव २०८१/८२ मा नेपालबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो । विद्युत् आयातको परिमाण क्रमशः घट्दै गएको छ ।

सरकारले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले बताए । ‘नेपालको जलविद्युत् क्षमता, उत्पादन क्षमता व्यवस्थापन र छिमेकी मुलुकहरूसँगको विश्वासप्रद सहकार्यको प्रतिफलले निर्यात बढाउन सफल भएका छौँ,’ खड्काले भने ।

गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो ।  

नेपाल विद्युत् प्राधिकरणले आ.व. २०८१/०८२को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।  

विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको मन्त्री खड्काले बताए ।

विद्युत् निर्यातको यो सञ्जाल केवल भारतमा सीमित नभई बङ्गलादेश पनि भएको छ । बङ्गलादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । जुन आगामी दिनमा अझै विस्तार हुने सम्भावना छ । बङ्गलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ । जसले विदेशी मुद्रा आम्दानीमा समेत सकारात्मक प्रभाव पारेको छ ।

नेपालले बंगलादेशमा पहिलो पटक व्यवसायिक रुपमा डलरमा विद्युत् निर्यात थालेको हो । भारत, बङ्गलादेश र नेपालबिचको त्रिपक्षीय सहकार्य, राजनीतिक समझदारी र प्राविधिक तयारी मन्त्री खड्काको संयोजकत्वमा तीव्र गतिमा अगाडि बढाइएको थियो। भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडमार्फत बङ्गलादेशसम्म बिजुली पुर्‍याउने रणनीति पनि यो नेतृत्वकै दूरदर्शी पहलको सन्दर्भमा मूल्याङ्कन गर्न सकिन्छ ।

वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात गर्न थालिएको प्रणालीले ठूलो लाभ दिइरहेको छ । साथसाथै, भारतमा एनभीभीएनमार्फत मध्यकालीन सम्झौताका आधारमा समेत नियमित आपूर्ति भइरहेको छ।

नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइन तथा भारत–बङ्गलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बङ्गलादेशसम्म पुग्न थालेको छ ।

नेपाललाई केवल ऊर्जाको आत्मनिर्भर देश बनाउने मात्र होइन, ऊर्जा कूटनीतिको क्षेत्रमा पनि अग्रणी बनाउने दिशामा सार्थक पाइला चालेको छ । नेपाललाई ऊर्जाको माध्यमबाटै समृद्ध मूलक बनाउने यात्रामा एकजुट हुनुपर्ने मन्त्री खड्का बताउँछन् ।

प्रकाशित: २२ श्रावण २०८२ १७:३४ बिहीबार