नेपाल बैंक लिमिटेडले आफ्नो ८९ औं वार्षिकोत्सव सम्पन्न गरेको छ।
१९९४ कार्तिक ३० गते स्थापना भएको यो बैंकले ८८ वर्ष पूरा गरी ८९ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालय प्राङ्गणमा वार्षिकोत्सव आयोजना गरेको हो।
समारोह नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने बैंकका सञ्चालक समिति अध्यक्ष प्रा.डा. दिल्ली राज शर्माले समारोहको अध्यक्षता गरेका थिए।
हाल नेपाल बैंक लिमिटेडले देशभर २२९ शाखा, २०५ एटिएम मेसिन र ६० एक्सटेन्सन काउन्टरमार्फत करिब २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।
बैंकले ग्राहक सेवामा व्यापक सुधार गर्दै आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट प्रतिस्पर्धी सेवा सुविधा उपलब्ध गराइरहेको छ। करिब ९ लाखभन्दा बढी ग्राहकले डिजिटल प्रविधिमार्फत बैंकिङ्ग सेवा लिइ लाभान्वित भएका छन्।
प्रकाशित: १ मंसिर २०८२ १४:२३ सोमबार