अर्थ

खिम्ती जलविद्युत् केन्द्रको शेयर हस्तान्तरणसम्बन्धी वार्ता समिति पुनर्गठन

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको शेयर स्वामित्व हस्तान्तरण तथा भविष्यको सञ्चालन र व्यवस्थापनसम्बन्धी विषयमा छलफल अघि बढाउन गठित वार्ता समितिलाई पुनर्गठन गरेको छ। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो।

पुनर्गठित समितिले आयोजनाको स्वामित्व हस्तान्तरण, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायतका विषयमा प्रवर्द्धक कम्पनीसँग वार्ता गर्ने जिम्मेवारी पाएको छ।

खिम्ती जलविद्युत् आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडलअन्तर्गत हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजना हो। यस आयोजनाले २०५७ असार २७ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो।

विद्यमान सम्झौताअनुसार व्यावसायिक उत्पादन सुरु भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण हुनुपर्ने व्यवस्था रहेको छ। तर विभिन्न कारणले हालसम्म उक्त प्रक्रिया सम्पन्न हुन सकेको छैन।

यसका साथै आयोजनाबाट उत्पादित विद्युत्को नयाँ खरिद दर निर्धारण, रोयल्टी तथा करसम्बन्धी विषयहरूलाई समेत टुंगो लगाउनुपर्ने आवश्यकता रहेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गरिएको छ। उक्त समितिले विद्युत् महसुल, जरिवाना तथा प्रशासनिक निर्णयसँग सम्बन्धित विवादहरूको पुनरावलोकन गरी समाधानका लागि आवश्यक कार्य गर्नेछ।

सञ्चालक समितिको बैठकले प्राधिकरणमा रिक्त रहेका विभिन्न पदहरूको पदपूर्ति प्रक्रिया अगाडि बढाउन प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शान्ति लक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८३ १६:३८ बिहीबार