अर्थ

राष्ट्रिय औद्योगिक व्यापार मेला बुधबारदेखि

नेपाल मणिपाल शिक्षण अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक आगामी पर्सी बुधबारदेखि शुरु हुने भएको छ ।  

पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल मणिपाल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा हुने मेला मंसिर १७ गते बुधबारदेखि शुरु भएर मंसिर २१ गते समापन हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।  

पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।

मेलामा १०४ वटा स्टलहरु रहने उनले बताए । उनका अनुसार डोममा ७४ वटा र डोम बाहिरको खुल्ला स्थलमा थप ३० वटा स्टलहरु रहनेछन् ।  

डोम भित्र सूचना प्रविधि सम्बन्धि स्टलहरु रहनेछन् भने बाहिर औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका स्टलहरु रहने जनाइएको छ । स्टल निर्माणको काम लगभग सम्पन्न भएको अध्यक्ष कार्कीले बताए ।

मेलाको अवसरमा यसअघिजस्तो सांगीतिक तथा सांस्कृतिक कार्यक्रम कम हुने भएको छ । तर त्यस समयमा सांस्कृतिक कार्यक्रमसँगै उद्यमशिलता सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने अध्यक्ष कार्कीले बताए ।  

‘हामीले मेलालाई रमाईलो भन्दा पनि उद्देश्य अनुरुप अधिकतम रुपमा उद्यमशिलता विकास र व्यापार प्रवद्र्दनलाई जोड दिएका छौं’ उनले भने ।  

अध्यक्ष कार्कीले जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगी/व्यवसायीको मनोवल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्न पनि मेलाले योगदान गर्ने बताए ।

‘लगानीको सम्बर्द्धन: उद्योग–व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुने मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवर्द्धन तथा प्रचार–प्रसार, पोखराको पर्यटन र व्यापार प्रवर्द्धनका रुपमा सञ्चालन गर्न लागिएको कार्कीको भनाई छ ।  

उनले मेलालाई उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष जोड्ने थलो बनाउने, पोखरासहित सम्पूर्ण राष्ट्रकै कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्‍याउने उद्देश्यमा समर्पित गरिएको बताए ।

अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको शहर बनाउने अभियानसँग मणिपालको उद्देश्य मिलेकोले मणिपाल शिक्षण अस्पतालसँग सहकार्य गरिएको बताए । ४० को दशकमै पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गरेको स्मरण गर्दै उनले भने,‘ पोखराको भौगोलिक अवस्थिति र हावापानी स्वास्थ्य पर्यटनका निम्ति उचित रहेको यसबाट हामीले मनग्य विदेशी मुद्रा आर्जन अनि रोजगारी सिर्जना गर्न सक्छौँ भन्ने पुष्टि हुँदै गएको छ ।’  

उनले पोखराको हावापानी उपयुक्त भएकाले यहाँ चिकित्सा र वेलनेस सेन्टरहरु सञ्चालन गरेर पोखराको पर्यटनलाई गुल्जार बनाउन सम्भव रहेको र त्यसको एउटा रोलमोडल मणिपाल शिक्षण अस्पताल रहेकाले पनि सहकार्य सम्भव भएको उल्लेख गरे ।

प्रकाशित: १५ मंसिर २०८२ १८:३९ सोमबार