अर्थ

कृषि अनुदानमा नयाँ किसान खोज्दै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ चितवनले चितवन र मकवानपुरका किसानसम्म कृषि अनुदानका कार्यक्रम पुर्‍याउन प्रयास गरिरहे पनि प्रस्ताव पेस गर्ने किसानको संख्या भने न्यून देखिएको छ । कार्यालयले धेरै किसानहरुलाई सहभागि गराउने उद्देश्यले आर्थिक वर्ष २०८२-०८३ को लागि प्रस्ताव आह्वान गरे पनि कार्यक्रममा प्रस्ताव पेस गर्ने किसानको संख्या भने सोचे अनुरुप आउन नसकेको हो । 

कार्यालयले चालु आर्थिक वर्षका लागि सात करोड ६४ लाख ३९ हजार रुपैयाँ बराबरको कृषि अनुदानका लागि ३५ दिने प्रस्ताव आब्हान गरेको थियो । सो अवधिमा चितवनको माछा जोन र मकवानपुरको धान जोन तथा उद्यमशिलता कार्यक्रममा कम किसानले निवेदन दिएको कार्यालयका प्रमुख महेश रेग्मीले जानकारी दिए ।  

‘कृषि अनुदानमा धेरै किसानहरुलाई सहभागि बनाउन साउन ८ गते सूचना प्रकाशित गरेर सञ्चारका सबै माध्यम प्रयोगगरी वडा वडामा पुर्‍याएका थियौँ,’ कार्यालय प्रमुख रेग्मीले भने ‘धेरै किसान आएर राम्रो किसान छनोट गर्दा उपयुक्त हुन्थ्यो । अहिले प्रस्ताव पेस गर्ने किसानको संख्या सोचेअनुरुप छैन ।’ प्रस्ताव पेश गर्नेमा नयाँभन्दा पुराना किसान बढी छन् ।  

कृषि अनुदानका लागि प्रस्ताव कम आएपछि कार्यालयले दोस्रोपटक सूचना प्रकाशित गरेको छ । ‘किसानहरुले अनुदानका कार्यक्रममा प्रस्ताव पेस नगर्नुभएको होइन,’ उनले भने ‘केही कार्यक्रममा कम आएकाले धेरै सहभागी बनाउनका लागि दोस्रोपटक सूचना प्रकाशित गरेका हौँ ।’

कार्यालयले आह्वान गरेका कार्यक्रम मध्ये कृषि तथा पशुपन्छि उद्यमशिलता विकास कार्यक्रम, पूर्वाधार सिँचाइ, माछा ह्याचरी, धानको बीउ उत्पादन लगायतका क्षेत्रमा अनुदान प्रस्ताव कम आएको उनले बताए ।  कार्यालयले चितवनका पाँच र मकवानपुरका दुई वटा जोन हेर्दै आएको छ । यी क्षेत्रमा चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्नका लागि ५० देखि ८५ प्रतिशत अनुदानका कृृषि कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आब्हान गरिएको रेग्मीले बताए । चितवन र मकवानपुरमा सञ्चालित तरकारी, धान, केरा, माछा, मौरी जोन तथा उद्यमशिलता कार्यक्रमका लागि ४७ वटा कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको थियो ।  

कार्यालयले सबैभन्दा बढी यसबर्ष सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतमा अनुदान दिँदैछ । यहाँबाट सञ्चालित सात वटै जोन क्षेत्रमा सिँचाइका कार्यक्रम सञ्चालन गर्नेगरी सूचना आह्वान गरिएको छ । कार्यक्रमले सिँचाइका लागि दुई करोड ७५ लाख २५ हजार रुपैंयाँको बजेटको प्रस्ताव माग गरेको छ । यस बजेटबाट एक सय ५५ वटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भार गर्ने लक्ष्य राखिएको छ ।  

चितवन र मकवानपुरमा सञ्चालित धान जोनमा दुई करोड ६४ लाख छ हजार, तरकारी जोनमा एक करोड एक लाख ८० हजार, माछा जोनमा ९५ लाख ३८ हजार, मौरी जोनमा ८७ लाख १५ हजार रुपैयाँ बराबरको कृषि कार्यक्रमका लागि प्रस्ताव माग गरिएको छ । यस्तै कार्यालयले जोन क्षेत्रसहित अन्य क्षेत्रमा पनि उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न एक करोड ६० लाख, व्यवसायिक प्याज प्रवद्र्धन कार्यक्रमका लागि १८ लाख रुपैयाँको प्रस्ताव आब्हान गरेको छ । यसका लागि ५० प्रतिशत किसानले व्यहोर्नुपर्ने हुन्छ । ४० वटा उद्यमशिलता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको कार्यालयमा ३३ वटा किसानले मात्र निवेदन दिएका छन् ।  

काम गर्ने किसानलाई २५ प्रतिशत अनुदान पनि धेरै भएपनि किसानले प्रस्ताव कम पेश गर्ने गरेको कार्यालयको भनाई छ । वडाहरुले पनि आफ्नो क्षेत्रमा सूचना प्रवाह गरेमा नयाँ किसानहरुले समेत अनुदानका कार्यक्रममा सहभागि हुन पाउने कार्यालय प्रमुख रेग्मीले जानकारी दिए ।  

प्रकाशित: १८ भाद्र २०८२ १८:३७ बुधबार