बाँकेको नरैनापुर गाउँपालिकाले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । पालिकाले मोटा धानका लागि प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानका लागि तीन हजार ६३८ रुपैयाँ ३३ पैसा कायम गरेको हो ।
यो निर्णय मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकको निर्णयअनुसार गरिएको गाउँपालिकाले जनाएको छ । धान उत्पादनमा आत्मनिर्भरता र किसानको हितलाई प्राथमिकतामा राख्दै गरिएको मूल्य निर्धारणले स्थानीय किसानमा उत्साह जगाएको छ । प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार केन्द्र सरकारले तोकेको नीतिलाई कार्यान्वयन गर्दै गाउँपालिकाले किसानको हितमा निर्णय गरेको हो । उनका अनुसार यस वर्ष समयमा नै समर्थन मूल्य कायम गर्न सकिएकोले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता भएको छ ।
गाउँपालिकाका कृषि प्राविधिक सदन भण्डारीले बताए अनुसार धानको समर्थन मूल्य तोकिँदा किसान प्रत्यक्ष लाभान्वित भएका छन् । उनका अनुसार गत वर्ष किसानले बजारमा आफ्नो धान दुई हजार दुई सयदेखि दुई हजार तीन सय रुपैयाँ प्रतिक्विन्टलमा मात्र बिक्री गर्नुपरेको थियो ।
‘यसपटक पालिकाले समर्थन मूल्य बढाएर निर्धारण गरेपछि किसानले घाटा बेहोर्नुपर्ने अवस्था हटेको छ,’ भण्डारीले भने, ‘यो निर्णय किसानका लागि राहतको रूपमा आएको छ ।’
नरैनापुर गाउँपालिका लुम्बिनी प्रदेशको धान उत्पादनका दृष्टिले महत्त्वपूर्ण क्षेत्रमध्ये एक मानिन्छ । यहाँका अधिकांश किसान धान खेतीमा निर्भर छन् । ग्रामीण भेगका किसानले वर्षभरि मेहनत गरेर उत्पादन गर्ने धान बिक्री गर्दा बजार मूल्य घट्ने र लागत नउठ्ने समस्या झेल्दै आएका थिए । समर्थन मूल्य निर्धारण भएपछि उनीहरूमा अब उत्पादन लागत सुरक्षित हुने र केही नाफा पनि हुने अपेक्षा बढेको छ ।
यस वर्षको धान उत्पादनमा मौसमले पनि सकारात्मक सहयोग पुर्याएको छ । पर्याप्त वर्षा र समयमै बाली लगाउन पाएको कारण नरैनापुरमा धानको उत्पादनमा सुधार आएको छ । स्थानीय किसानहरूका अनुसार गत वर्षको तुलनामा यसपालि उत्पादन १० देखि १५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । धानको न्यूनतम समर्थन मूल्य निर्धारणसँगै स्थानीय बजारमा पनि यसको प्रभाव देखिन थालेको छ । व्यापारीहरूले समर्थन मूल्यभन्दा तल मूल्य प्रस्ताव गर्न नसक्ने भएकाले किसानले आफ्नो उत्पादन बेच्दा दबाबमा पर्नु परेको छैन । यसले किसान र व्यापारीबीच सन्तुलित मूल्य प्रणालीको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
धान खेती नरैनापुर गाउँपालिकाको प्रमुख आयस्रोत हो । यहाँका अधिकांश किसानले धानबाटै वार्षिक आम्दानी गर्छन् । धानकै भरमा उनीहरूको परिवारको खर्च, छोराछोरीको शिक्षा र दैनिक जीवन सञ्चालन हुन्छ । त्यसैले समर्थन मूल्य निर्धारणले उनीहरूका लागि राहतका साथै स्थायित्वको भावना जगाएको छ । कृषि विकासका क्षेत्रमा नरैनापुर गाउँपालिकाले पछिल्ला वर्षहरूमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषि बीउ उत्पादन प्रवद्र्धन, सिँचाइ विस्तार, आधुनिक उपकरण वितरण, र जैविक मल प्रयोग प्रोत्साहनजस्ता कार्यक्रमहरू कार्यान्वयनमा छन् । प्रमुख प्रशासकीय अधिकृत ओलीका अनुसार यी कार्यक्रमहरूले स्थानीय उत्पादन बढाउन र किसानको जीवनस्तर सुधार गर्न सहयोग पुर्याइरहेका छन् ।
प्रकाशित: १२ कार्तिक २०८२ २०:४२ बुधबार