अर्थ

नागढुङ्गा सुरुङमार्गको शुल्क सार्वजनिकः साना सवारीलाई ६५, भारी उपकरणलाई ६०० सम्म

काठमाडौंको मुख्य नाका नागढुङ्गास्थित सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सरकारले महसुल दर सार्वजनिक गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सुरुङमार्ग उपभोग गरेबापत तिर्नुपर्ने दस्तुर तोकेको हो।

नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो शुल्क निर्धारण गरेको हो।

गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बिहीबार राजपत्रमा दररेट प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ।

नयाँ दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

यस्तै मिनी बस, मिनी टिपर र मिनी ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ।

ठूला सवारी साधनतर्फ बस र सिङ्गल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ।

भारी उपकरण र मल्टी एक्सल भएका ट्रक वा सवारी साधनका हकमा भने ६०० रुपैयाँ प्रवेश शुल्क र २५० रुपैयाँ बाहिरिने शुल्क निर्धारण गरिएको छ।

प्रकाशित: २६ चैत्र २०८२ २१:३५ बिहीबार