अर्थ

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

सार्क मुलुकका पाहुनाको आगमन ह्वात्तै बढी, तेश्रो मुलुकका पाहुनाको आगमन अझ कम

अन्नपूर्ण क्षेत्रको उपल्लो मुस्ताङ पुगेका विदेशी पाहुना। फाइल तस्बिरः नागरिक

अन्नपूर्ण क्षेत्रमा भित्रिएका विदेशी पर्यटकको तथ्यांकले नयाँ रेकर्ड कायम गरेको छ। अहिलेसम्मकै बढी संख्यामा विदेशी पाहुना अन्नपूर्ण क्षेत्रमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। पछिल्लो समय सार्क मुलुकका पाहुनाको आगमनमा उत्साहजनक वृद्धि हुँदा अन्नपूर्ण क्षेत्रले अधिक संख्यामा पाहुना पाएको आयोजनाको भनाई छ।  

एक्याप प्रमुख रविन कडरियाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अन्नपूर्ण क्षेत्रमा मात्र २ लाख ७८ हजार १ सय १३ जना विदेशी पाहुना गएका छन । यो संख्या अहिलेसम्मकै बढी भएको उनले बताए। वर्षभरिमा भित्रिएका पर्यटक मध्ये तेश्रो मुलुकका विदेशीको संख्या १ लाख २० हजार ३ सय २७ रहेको कडरियाले बताए। सार्क मुलुकका पाहुनाको संख्या भने १ लाख ५७ हजार ७ सय ८६ रहेको एक्यापले बताएको छ।  

‘पछिल्लो समय भारतीय धार्मिक पर्यटकको आगमन अधिक बढेको छ। भारतीय धार्मिक पर्यटक बढ्नासाथ पाहुनाको आगमन उकालो लागिहाल्छ,’ उनले भने, ‘हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जानेगरि ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्रिन्छन। त्यो आगमनमा वृद्धि हुँदा समग्रमा एक्याप क्षेत्रमा पाहुनाको संख्यामा वृद्धि हुन्छ।’ सातवर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पाहुनामाझ मुक्तिनाथको महिमा अझ बढेसँगै आगमन पनि बढेको कडरियाले बताए।  

‘भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शनले भारतीय धामिर्क पर्यटकमाझ मुक्तिनाथको महत्व चुलियो। त्यसले गर्दा मुक्तिनाथ जानेको आगमन ह्वात्तै बढ्न जाँदा आगमन संख्या पनि उकालो लागेको हो,’ कडरियाले भने, ‘भारतीयहरु पछिल्लो समय पदयात्राका लागि पनि आउने गरेका छन। त्यसबाहेक गर्मी छल्नका लागि आएका भारतीय पर्यटकले पनि आगमनको आकारलाई बढाएको हो।’ 

एक्यापका अनुसार अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०७९/८० मा सबैगरि १ लाख ७२ हजार १ सय ८ जना विदेशी पाहुना गएका थिए। त्यो वर्ष तेश्रो मुलुकका विदेशी पाहुनाको संख्या जम्मा ८२ हजार ७ सय ५ थियो। त्यस्तै त्यही आगमन आर्थिक वर्ष २०८०/८१ मा २ लाख २२ हजार १ सय ८० थियो। त्योवर्ष तेश्रो मुलुकका विदेशीको आगन संख्या १ लाख ४ हजार २ सय ९६ थियो।  

‘कोरोना भाइरस संक्रमण बिस्तारै कमजोर हुँदै जाँदा बल्ल विदेशीको आगमन बढेको हो। सार्क मुलुक भन्दा पनि तेश्रो मुलुलकका विदेशीको आगमन अझै बढाउन जरुरी छ,’ कडरियाले भने, ‘आउजाउ सहज हुँदै जाँदा पनि घुमघामका लागि आउने पाहुनाको संख्या बढी हुन्छ।’ चैतदेखि जेठसम्म नेपालमा भारतीय पर्यटकको आगमन ह्वात्तै बढ्छ। भारतमा यो बेला अधिक गर्मि हुने भएकोले पनि गर्मि छल्ने बहानामा धेरै भारतीय पर्यटक नेपाल आउने गर्छन।  

अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वमै कहलिएको पदयात्रा हो। कुनैबेला २८ दिनमा पुरा हुने अन्नपूर्ण फेरोको पदयात्रा अहिले एकसातामै पुरा हुन्छ। मोटरको पहुँच बिस्तार भएसँगै पदयात्रा अवधि पनि घटेको छ। अन्नपूर्ण क्षेत्रमध्ये पनि अन्नपूर्ण फेरोको पदयात्रामा बढी साहसिक मानिन्छ। लम्जुङबाट सुरु हुने अन्नपूर्ण फेरोको पदयात्रा मनाङ हुँदै ५ हजार ४ सय १६ मिटरको थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ ओर्लिन सकिन्छ। त्यसबाहेक ठूलो संख्यामा पर्यटकहरु अन्नपूर्ण आधारशिविर, माथिल्लो मुस्ताङ लगायत क्षेत्रमा पदयात्रामा जान्छन। अन्नपूर्ण क्षेत्रकै घान्द्रुक, घोरेपानी लगायतका क्षेत्रमा जाने विदेशी पनि पर्याप्त हुन्छन।  

तेश्रो मुलुकका अझै कम

अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०७५/७६ मा १ लाख ३२ हजार २ सय १५ जना विदेशी पाहुना घुमघाममा गएका थिए। यो नै अहिलेसम्मको सबैभन्दा बढी आगमन हो। त्यसपछि कोरोना भाइरस संक्रमणका कारण आगमन कमजोर हुँदै गएको थियो। त्यो आगमन आर्थिक वर्ष २०७९/८० मा ८२ हजार ७ सय ५ थियो। आर्थिक वर्ष २०८०/८१ मा १ लाख ४ हजार २ सय ९६ जना विदेशी पाहुना अन्नपूर्ण क्षेत्रमा गएका थिए। आर्थिक वर्ष २०८१/८२ मा १ लाख २० हजार ३ सय २७ जना विदेशी अन्नपूर्ण क्षेत्रमा गएका थि।  

‘सार्कका समेत पर्यटकको संख्या थपिँदा आर्थिक वर्ष २०८१/८२ को आगमन संख्या सर्वाधिक बन्यो। तर, तेश्रो मुलुकको आगमन अझै पनि कमजोर छ। आर्थिक वर्ष २०७५/७६ को आगमनलाई अझै उछिन्न सकेको छैन,’ एक्याप प्रमुख कडरियाले भने, ‘आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा अझै १२ हजार संख्या कम छ। समग्रमा पर्यटक आगमनले उच्च रेकर्ड बनाएपनि तेश्रो मुलुकका विदेशीको आगमनले भने अझै नयाँ रेकर्ड कायम गर्न सकेको छैन।’

सार्क मुलुकका पर्यटक आगमन थपिँदा समग्र आगमन संख्या बढी देखिएको कडरियाले बताए। ‘सार्क मुलुकका पर्यटक आगमनमा उत्साहजनक वृद्धि भएको  छ। कोेरोना संक्रमणपछि आगमन नबढेको त होइन। तर, सार्क मुलुकका पर्यटकको आगमनमा भने उत्साहजनक वृद्धि भएकै हो,’ उनले भने।  

भारतीयको बसोबास जम्मा एकरात

अन्नपूर्ण क्षेत्रमा पुग्ने भारतीय पाहुनाको आगमन संख्या ठूलो भएपनि उनीहरुको बसाई अवधि भने निकै नै कम रहेको एक्यापको भनाई छ। अन्नपूर्ण क्षेत्रमा पुग्ने सार्क मुलुकका पर्यटकमध्ये अधिक संख्या भारतीयको हुने गरेको छ । मुक्तिनाथ दर्शन गर्नका लागि ठुलो संख्यामा भारतीय आउँछन्। अन्नपूर्ण क्षेत्रमा भारतीयको बसोबास जम्मा एकरात हुने गरेको छ।

‘धार्मिक पाहुना हुने भएकोले उनीहरुको बसाई कम हुनु स्वभाविक हो,’ उनले भने, ‘धर्मको उद्देश्यले आउने भएकाले मन्दिर दर्शन गरेसँगै उनीहरुको बसाई पुरा हुन्छ।’

तर, तेश्रो मुलुकका विदेशीको बसोबास भने अहिले पनि १० दिन रहेको कडरियाले बताए। ‘तेश्रो मुलुकका विदेशी पदयात्रामा जाने भएकोले उनीहरुको बसाई पनि कम्तिमा १० दिन हुन्छ। यो समय कुनैबेला २८ दिनको थियो,’ उनले भने, ‘अहिले पदमार्गमा मोटर गुडेकोले पनि बसाई अवधि कम भएको हो। हिजोका दिनसम्म पदयात्रा गरेर जाने पर्यटकहरु अहिले मोटरमा माथिसम्म उक्लिन सक्छन।’

प्रकाशित: १ श्रावण २०८२ १५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App