अमेरिकी सरकारको करिब ५५ करोड डलर अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत पूर्वाधार निर्माणका कामहरू धमाधम अघि बढेका छन्। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले विद्युत् प्रसारण लाइन र सब स्टेसन निर्माणको काम सुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रसारण लाइन र न्यु बुटवल सबस्टेसन निर्माण सुरु गरिएको छ। अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले बुधबार दुवै योजना निर्माणको काम सुरु गरेका हुन्।
चार सय केभी क्षमताको प्रसारण लाइनले न्यु बुटवल सब स्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ। करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने दुवै पूर्वाधारले आगामी दशकभित्र १० हजार मेगावाट बिजुली निर्यात गर्ने नेपालको लक्ष्यलाई सघाउने विश्वास लिइएको छ।
नेपालमा एमसिसी परियोजना कार्यान्वयनमा ल्याउने वा नल्याउने भन्ने विषयमा चर्को मतभेदपछि १२ बुँदे व्याख्यात्मक टिप्पणी गरी परियोजना सुरु गरिएको थियो। कार्यान्वयनमा अवरोध आउने आशंकाबिच सुरु भएको परियोजनाअन्तर्गतका पूर्वाधार निर्माण धमाधम अघि बढाइएको छ।
एमसिसीको सहयोगमा निर्माण सुरु भएका पूर्वाधारले स्वच्छ ऊर्जामा पहुँचको विस्तार र क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धिमार्फत दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुग्ने अर्थमन्त्री खनालले बताए। ‘एमसिसी र एमसिए नेपालको सहयोगबाट हामी राष्ट्रको रूपान्तरण गर्दैछौं,’ खनालले भने। एमसिसीसँग भएको सम्झौताअनुसार परियोजना कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र काम सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ।
एमसिसीअन्तर्गत तीन वटा सबस्टेसनको ठेक्का लगाइएको छ। रातमाटे, नयाँ दमौली र न्यु बुटवलको ठेक्का लागिसकेको छ। चार सय केभी न्यु दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनीसँग सम्झौता भएको थियो। न्यु दमौली निर्माण लागत तीन करोड ८८ लाख डलर छ। न्यु दमौली सबस्टेसनको क्षमता एक हजार मेगाभोल्ट एम्पिएर हुनेछ।
त्यसैगरी रातामाटे सबस्टेसन निर्माणका लागि गत जुनमा टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङसँग सम्झौता भएको थियो। न्यु दमौली सबस्टेसनले रातामाटे, लेखनाथ र न्यु बुटवल सबस्टेसन विद्युत् प्रवाहका लागि महत्त्वपूर्ण विन्दु हुनेछ।
एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुन लागेका नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबिच महत्त्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्ने एमसिए नेपालले जनाएको छ। नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा एउटा नयाँ अध्याय थपिएको एमसिए नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टले बताए। ‘पूर्वाधार निर्माणले ऊर्जा व्यापार विस्तार गर्न तथा नेपाललाई दीर्घकालीन लाभ दिलाउन नयाँ अवसर सिर्जना हुनेछन्,’ उनले भने।
तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माणको पनि ठेक्का लागिसकेको छ। नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइवा–सलार जेभीसँग सात करोड ७० लाख ३० हजार डलरमा ठेक्का सम्झौता भएर काम अघि बढेको छ। त्यस्तै रातमाटे–नयाँ दमौली प्रसारण लाइन बनाउन भारतको एन्जेलिक–स्किपर जेभीसँग सात करोड ७४ लाख ८० हजार डलरमा ठेक्का सम्झौता भएको छ।
एक सय १७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा प्रसारण लाइन पनि निर्माण अघि बढ्ने प्रक्रियामा रहेको एमसिए नेपालले जनाएको छ। १८ किलोमिटर लामो चार सय केभी क्षमताको न्यु बुटवल–नेपाल/भारत प्रसारण लाइन भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडले ठेक्का लिएर काम अघि बढाएको छ।
एमसिए नेपालका अनुसार नौ जिल्लामा जग्गाको मुआब्जा निर्धारणको काम पनि सम्पन्न भएको छ। त्यसैगरी परियोजनामा पर्ने रुख कटान प्रक्रिया अघि बढेको छ भने प्रसारण लाइनको तारमुनि पर्ने जग्गा रोक्का गरिएको छ। सडकको ठेक्का लगाउन बोलपत्र मूल्यांकन अन्तिम चरणमा छ।
अमेरिकी सरकारले मंसिर पहिलो साता एमसिसी नेपालका लागि करिब सात अर्ब रुपैयाँ अनुदान थप गरेको थियो। नेपालमा एमसिसी परियोजना कार्यान्वयनका लागि अमेरिकाले थप पाँच करोड डलर (करिब सात अर्ब रुपैयाँ) दिने घोषणा गरेपछि नेपाल सरकारलाई राहत भएको छ। डोनल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि विदेशी अनुदान सहयोगमा अमेरिका कठोर बनेको थियो। तर पछि अमेरिकाले एमसिसीप्रति लचिलो बनेर अनुदानलाई निरन्तरता दिँदै रकम थपेको हो।
अमेरिकी अनुदान र नेपाल सरकारको सहयोगसहित कुल ७४ करोड ७० लाख डलरको यो परियोजना बन्न लागेको हो। जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर छ। एमसिसी नेपाललाई अमेरिकाले सुरुमा ५० करोड डलर अनुदान दिने सम्झौता भएकोमा पछि पाँच करोड डलर थपेर ५५ करोड डलर पुर्याइएको थियो।
नेपालमा थप भरपर्दो ऊर्जा प्रणाली निर्माणमा एक प्रतिबद्ध साझेदारका रूपमा उभिन पाउँदा अमेरिकालाई गर्व लागेको बुधबार आयोजित कार्यक्रममा अमेरिकी राजदूत थम्पसनले बताए। विद्युत् प्रसारण लाइन र न्यु बुटवल सबस्टेसन निर्माण शुभारम्भ कार्यक्रममा उनले भने, ‘प्रसारण लाइन तथा सब स्टेसन जस्ता आयोजनाले घरपरिवार तथा उद्योग–व्यवसायमा बत्ती बाल्न मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्छ।’
प्रकाशित: ११ मंसिर २०८२ ०६:१८ बिहीबार