अर्थ

‘गरिबी’ बढार्दै अम्रिसो

कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ।

वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसो खेती गर्दै समूहले वन संरक्षणसँगै आर्थिक समृद्धि हासिल गरिरहेको छ। वन कार्यालयका सचिव दामोदर जोशीकाे अनुसार सामुदायिक वनमा करिब डेढ दशकअघि सुरू गरिएको अम्रिसो खेतीलाई पछिल्लो छ वर्षदेखि व्यवस्थित र व्यावसायिक बनाइएको हो।

“गएको असारसम्म सात हजार कुचो बेचेर तीन लाख रूपैयाँभन्दा बढी आम्दानी गर्‍यौं”, जोशीले भने, “अघिल्लो वर्ष कुचोबाट दुई लाख मात्र आम्दानी भएको थियो।”

वनबाट सङ्कलन गरिएको अम्रिसोबाट स्थानीय उपभोक्तालाई रोजगारी दिइएको छ। “अम्रिसो सङ्कलनदेखि उपभोक्तालाई नै झाडु (कुचो) बनाउन लगाइन्छ”, जोशीले भने, “प्रत्येक झाडु बनाउँदा उनीहरूले १५  रूपैयाँ पारिश्रमिक पाउँछन् भने बजारमा ५० देखि ७० रूपैयाँसम्ममा बिक्री हुन्छ।”

समूहका अध्यक्ष ईश्वर बुढाका अनुसार बजारमा अम्रिसोको झाडुको माग उच्च छ। स्थानीय बजारमै सहज बिक्री हुन्छ। यद्यपि वन क्षेत्रमा अम्रिसो खेतीको क्षेत्र विस्तारका साथसाथै जङ्गली हात्तीको समस्या पनि बढ्दै गएको छ।

“हात्तीकाे नोक्सानीले यस वर्ष तीन लाख रूपैयाँ बराबरको झाडु मात्र बिक्री हुन सक्यो”, अध्यक्ष बुढाले भने, “अम्रिसोको आकर्षणले हात्तीको बथान बस्ती छिर्न थालेको छ, त्यसैले अम्रिसो खेतीलाई चुरे क्षेत्रतर्फ सार्ने योजना बनाएका छौं।”

हात्तीले नोक्सान नगर्ने हो भने १५ देखि २० लाख रूपैयाँसम्मको झाडु उत्पादन गर्न सकिने अध्यक्ष बुढाले बताए।

समूहको दीर्घकालीन योजनामा चुरे क्षेत्रका खोल्सा तथा समथर भूभागलाई अम्रिसोखेतीयोग्य बनाउने लक्ष्य छ। कुचो बिक्रीबाट आएको रकम वन संरक्षणका विविध कार्यमा लगानी गरिएको छ। मेसवायर जडान, फलफूल र बाँसका नमूना प्लट विकास, उपभोक्ताका लागि आयआर्जनमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै वन संरक्षण संस्थागत बनाइँदै आएको छ।

विसं २०५८ मा स्थापना भएको सो सामुदायिक वन हाल तीन सय ९७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। वनसँग ८१६ उपभोक्ता आबद्ध छन्। आम्दानी, रोजगारी, संरक्षण र समुदायबीचको सहकार्यको सफल नमूना बनेको यो वन अन्य सामुदायिक वनका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको सामुदायिक वन समन्वय समितिकाका अध्यक्ष महेशदत्त जोशी बताउँछन्।  

प्रकाशित: ५ श्रावण २०८२ १२:५३ सोमबार

# Nagariknews