अर्थ

सहकारी पीडितको बचत फिर्ता सुरु गर्ने पहिलो नगरपालिका भएको मध्यपुर थिमिको दाबी

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी पीडितको बचत रकम फिर्ता गर्न सुरु गर्ने देशकै पहिलो नगरपालिका भएको दाबी गरेको छ। नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी पीडित बचतकर्ताको रकम फिर्ता गर्न थालेको जनाएको हो।

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार स्थानीय तहमध्ये पहिलोपटक नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी समितिमार्फत समस्याग्रस्त कृषि विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवस्थापन प्रक्रिया अघि बढाएको हो। त्यसक्रममा पीडित बचतकर्ताको रकमसमेत फिर्ता गर्न थालिएको उनले बताए।

नगरपालिकाको चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न शुक्रबार मध्यपुर थिमिमा आयोजित कार्यक्रममा उपप्रमुख श्रेष्ठले हालसम्म सम्बन्धित ऋणीबाट ५० लाख ४२ हजार रुपैयाँ असुल गरी ५१२ जना बचतकर्तालाई रकम फिर्ता गरिएको जानकारी दिए। उनका अनुसार तीमध्ये ११६ जना बचतकर्ताको बचत पूर्ण रूपमा भुक्तानी भइसकेको छ।

सहकारी तथा सम्बन्धित ऋणीहरूको सम्पत्ति, बैंक खाता र सहकारी तथा सञ्चालकको नाममा रहेको करिब ५१३ रोपनी जग्गा न्यायिक समितिको निर्णयबाट रोक्का राखिएको नगरपालिकाले जनाएको छ। उक्त सम्पत्ति लिलामी गरी बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ।

नगरपालिकाले सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०८० लगायत पाँचवटा कार्यविधि निर्माण गरी लागू गरेको जनाएको छ। त्यस्तै, ऋण सूचना केन्द्रसमेत सञ्चालनमा ल्याइएको नगरपालिकाको भनाइ छ।

कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको चारवर्षे कार्यकालको प्रगति विवरण समेटिएको पाँच पृष्ठ लामो लिखित प्रतिवेदन सार्वजनिक गरेका थिए। प्रतिवेदनमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ५१२ जना बचतकर्तालाई कुल ५२ लाख ४० हजार रुपैयाँ फिर्ता गरिएको उल्लेख छ।

 

प्रकाशित: २२ श्रावण २०८३ १८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App