महिला उद्यमी महासंघ नेपालले तीनै तहमा आफ्नो समिति गठन अभियान थालेको छ। महिला उद्यमीको नेतृत्व विकासका लागि महासंघले तीन तहमा आफ्नो उपस्थिति बढाउन समिति गठन अभियान थालेको हो ।
यस क्रममा महासंघले बुधबार लुम्बिनी प्रदेश र कोहलपुर नगर समिति गठन गरेको छ । बाँकेकी महिला उद्यमी सरस्वती शर्मा पराजुलीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
उक्त समितिको उपाध्यक्षमा सुनिता चन्द राना (पाल्पा), सचिवमा अनिता खड्का (रुपन्देही) र कोषाध्यक्षमा अन्जु गुरुङ (बाँके) चयन भएका छन् । यसै गरी सदस्यहरूमा यशोदा पाण्डे(दाङ), कल्पना कुँवर(कपिलवस्तु), उमा पन्त क्षेत्री (बर्दिया), हिरा घले गुरुङ (रोल्पा) र निर्मला खत्री (गुल्मी) रहेका छन् ।
महासंघले यसअघि कोसी र कर्णाली प्रदेश स्तरीय समिति गठन गरिसकेको छ । बाँकी रहेका प्रदेशमा पनि क्रमिक रूपले समिति गठन गर्ने योजनामा रहेको महासंघले जनाएको छ ।
नेपालगन्जमा बुधबार एक समारोहका बिच महासंघले लुम्बिनी प्रदेश र कोहलपुर नगरपालिका स्तरीय समिति गठन गरेको हो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा प्रदेश समितिसँगै महासंघको कोहलपुर नगर समिति बिस्तार गरिएको थियो ।
कोहलपुरमा पाण्डेको नेतृत्वमा समिति गठन
कोहलपुर निवासी महिला उद्यमी अञ्जना पाण्डेको अध्यक्षतामा गठित समितिमा शारदा शर्मा, शान्ति गैरे, कल्पना शर्मा, राधा गौतम, शारदा थापा खतिवडा, रिता चन्द योगी, गिता बिक, दुर्गा बस्नेत, ओकि आलेमगर र सुष्मा घर्तिमगर रहेका छन् । तदर्थ समितिमा चाडै पदीय जिम्मेवारी बाँडफाँट गरिने बताइएको छ ।
नवगठित कार्यसमिति पदाधिकारीलाई शपथ खुवाउँदै महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले महासङ्घलाई स्थानीय, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्म बिस्तार गर्ने योजना अनुसार समिति गठन गर्न सुरु गरिएको बताइन् ।
‘महासङ्घलाई हामीले प्रदेश स्तरमा गठन गर्न सुरु गरेका छौँ,’ उनले भनिन्, ‘स्थानीय, प्रदेश हुँदै केन्द्रसम्म हामीले महिला उद्यमी महासङ्घलाई पुर्याउन चाहन्छौँ ।’ २३ वर्षको लामो इतिहास बोकेको महासङ्घलाई अझ उचाइमा पुर्याउन आफुहरु लागिपरेको अध्यक्ष ज्ञवालीले बताइन् ।
प्रकाशित: २८ श्रावण २०८२ १८:०८ बुधबार