अर्थ

बाढी पीडितलाई कुमारी बैंकको ३ करोड ३९ लाखको सहयोग

कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। साथै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका उद्धार तथा सञ्चार उपकरण उपलब्ध गराइएको छ।

बैंकका अनुसार ५ वटा अत्याधुनिक क्यामेरासहितका निगरानी ड्रोन, ३ वटा ५ किलोवाट क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ। यी उपकरणले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यमा सहयोग पुग्ने बैंकको विश्वास छ।

हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लाहरू प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारसँग समन्वय गरी सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। बैंकका अनुसार हाल प्रदान गरिएको सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

विपद्को यस कठिन घडीमा कुमारी बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ। साथै, बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।

प्रकाशित: ११ भाद्र २०८३ १५:३० बिहीबार