कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्ष ६७.४१ प्रतिशत वेरुजु फर्स्यौट गरेको छ । मन्त्रालयले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष ०८१-०८२ मा ६७ .४१ प्रतिशत वेरुजु फर्स्यौट गरेको जानकारी दिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्रालयले कुल ५ अर्ब ९५ करोड ९५ करोड,४९ लाख ५८ हजार वेरुजु मध्ये ४ अर्ब १ करोड ४४ लाख ३३ हजार रुपैयाँ फर्स्यौट गरेको जानकारी दिए । मन्त्री नियुक्त भए लगत्तै गत वर्ष मन्त्री राईले मन्त्रालयको वेरुजु फर्स्यौटमा ध्यान केन्द्रित गर्ने घोषणा गरेका थिए । त्यसपछि मन्त्री राईले वेरुजु फर्स्यौट अभियान नै सञ्चालन गरेका थिए ।
‘धेरै वेरुजु भएको मन्त्रालयका रुपमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहत कार्यालयमा वेरुजु फर्स्यौट अभियान नै सञ्चालन गरेपछि वेरुजु फर्स्यौटमा उल्लेख्य प्रगति हाँसिल भयो ’ मन्त्री राईले भने ।
उनका अनुसार मन्त्रालयले असुल उपर गर्नुपर्ने वेरुजु ४४ करोड ६७ लाख ८४ हजार रुपैयाँ मध्ये ३२ करोडमध्ये १० करोड ९८ लाख ७८ हजार रुपैयाँ असुल गरेको छ । यस्तै पेश्की वेरुजु ३ अर्ब ६ करोड १५ लाख ४० हजार रुपैयाँ मध्ये ३ अर्ब ६ करोड १५ लाख रुपैयाँ फर्स्यौट गरेको छ । यस्तै नियमित गर्नुपर्ने वेरुजु २ अर्ब ३५ करोड ८२ लाख ९८ हजार रुपैयाँ मध्ये १ अर्ब १ करोड ९७ हजार रुपैयाँ फर्स्यौट भएको मन्त्री राईले जानकारी दिए ।
राईले गत आर्थिक वर्ष मन्त्रालयले पाएको १० अर्ब ४१ करोड रुपैयाँ बजेटमध्ये ८ अर्ब ५० करोड खर्च गरेर ७३.६९ प्रतिशत वित्तीय प्रगती हाँसिल गरेको राईले दाबी गरे । मन्त्री राईले मन्त्रालयले ६२ वटा बहुवर्षीय आयोजना मध्ये ३२ वटा सम्पन्न गरेको र २६ वटा कार्यान्वयनको अन्तिम चरणमा रहेको बताए ।
प्रकाशित: ९ श्रावण २०८२ १६:५२ शुक्रबार