कोशी प्रदेशसभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेको छ। बुधबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेप ले प्रस्तुत गरेको कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धी विनियोजन विधेयक, २०८३ बहुमतबाट अनुमोदन गरेको हो।
बैठकमा मन्त्री लिंथेपले पेश गरेको ‘कोशी प्रदेशको अर्थसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३’ भने सर्वसम्मत रूपमा पारित भएको प्रदेशसभा सभामुख अम्मरबहादुर विष्टले जानकारी दिए।
बजेटमाथिको छलफलका क्रममा खर्च कटौतीका दुई प्रस्ताव दर्ता भएका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सपना दर्जी र गम्बु शेर्पाले छुट्टाछुट्टै खर्च कटौती प्रस्ताव पेश गरेका थिए।
प्रदेशसभाले दुवै खर्च कटौती प्रस्ताव अस्वीकृत गरेपछि विनियोजन विधेयक बहुमतले पारित भएको हो। यससँगै कोशी प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि बजेट कार्यान्वयनको कानुनी बाटो खुलेको छ।
प्रकाशित: २४ असार २०८३ १७:११ बुधबार