काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्ममा पोहरसालको तुलनामा राजस्व संकलनमा वृद्धि गरेको छ ।
महानगरका अनुसार उक्त अवधिमा महानगरले तीन अर्ब २२ करोड ४१ लाख २५ हजार एक सय ४९ रुपैयाँ राजस्व संकलन गरेको छ । सोही अवधिमा गत आवमा तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६ सय ५७ रुपैयाँ संकलन भएको थियो ।
गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको थियो । महानगरका राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार चालु आवका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार लक्ष्य राखिएको छ ।
चालु आवको हालसम्म आन्तरिक करतर्फ एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७०० संकलन भएको छ । गत आवको यस अवधिमा एक अर्ब ९९ करोड दुई लाख ६७ हजार ६ सय ९५ रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवमा आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर रहेको अधिकारीको भनाइ छ । उनका अनुसार गत आवको पहिलो चौमासिकमा ५० करोड ३१ लाख तीन हजार सात सय ३८ रुपैयाँ संककलन भएको सम्पत्ति कर चालु आवको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार दुई सय ७६ रुपैयाँ संकलन भएको छ ।
अधिकारीले भने, ‘गत वर्ष सम्पत्ति कर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोजमा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’
महानगरका अनुसार यस वर्ष वहाल कर असुली बढेको छ । अधिकारीले गराएको जानकारी अनुसार गत वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार एक सय ५४ रुपैयाँ संकलन भएकामा यस वर्ष एक अर्ब दुई करोड ९२ लाख ९७ हजार पाँच सय ७० रुपैयाँ संकलन भएको जानकारी दिए । गत वर्षको यस अवधिमा २२ करोड ८७ लाख आठ हजार सात सय आठ रुपैयाँ व्यवसाय कर संकलन भएकोमा चालु आवको हालसम्म २३ करोड ३२ लाख ३६ हजार एक सय ७० रुपैयाँ असुली भएको छ ।
प्रकाशित: ३ मंसिर २०८२ २१:२४ बुधबार