अर्थ

कर्णालीको अर्थतन्त्र सुस्त : उद्योग कमजोर, घट्दो पर्यटन, ७५ प्रतिशत सडक कच्ची

तीस हजारभन्दा बढी वैदेशिक रोजगारीमा

आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने अनुमान छ। सोही अवधिमा राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

प्रतिवेदनअनुसार कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रचलित मूल्यमा २ खर्ब ७७ अर्ब २५ करोड रुपैयाँ पुग्ने अनुमान छ। यो राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ४.२० प्रतिशत मात्रै हो। प्रदेशगत तुलना गर्दा बागमतीको योगदान सबैभन्दा धेरै ३६.७१ प्रतिशत रहँदा कर्णालीको सबैभन्दा कम देखिएको छ।

सेवा क्षेत्रमा निर्भर अर्थतन्त्र, उद्योगको योगदान न्यून

कर्णालीको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा सबैभन्दा बढी ५८.४१ प्रतिशत रहेको छ। कृषि क्षेत्रले ३१.५२ प्रतिशत र उद्योग क्षेत्रले १०.०७ प्रतिशत योगदान गर्ने अनुमान छ। राष्ट्रिय उत्पादनमा कर्णालीको कृषि क्षेत्रको हिस्सा ५.५१ प्रतिशत, उद्योगको ३.०२ प्रतिशत र सेवा क्षेत्रको ३.७६ प्रतिशत छ।

प्रदेशभित्र उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिदर १.५१ प्रतिशत र निर्माण क्षेत्रको २.७२ प्रतिशत रहने अनुमान गरिएको छ। यसले कर्णालीको अर्थतन्त्रमा उद्योग क्षेत्र अझै कमजोर रहेको देखाउँछ।

कृषि उत्पादन बढ्दा तरकारी र फलफूलमा गिरावट

समीक्षा वर्षमा कर्णालीमा समग्र खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ३.५५ प्रतिशतले बढेको छ। धान खेतीको क्षेत्रफल २.९४ प्रतिशतले घटे पनि उत्पादन भने ६.७६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। मकै, गहुँ, कोदो, फापर र जौको उत्पादनमा समेत वृद्धि देखिएको छ।

तर तरकारी उत्पादन ३.७६ प्रतिशत र फलफूल उत्पादन ४.०५ प्रतिशतले घटेको छ। स्याउ उत्पादन ३.२६ प्रतिशत र सुन्तला उत्पादन ३.८० प्रतिशतले कम भएको छ। पशुजन्य उत्पादनतर्फ दूध, ऊन र अण्डाको उत्पादन बढे पनि मासु उत्पादन २३.१६ प्रतिशतले घटेको छ।

प्रदेशको खेतीयोग्य जमिनमध्ये खेती गरिएको क्षेत्रफल १ लाख ३२ हजार ७३३ हेक्टर छ। तर खेती गरिएको जमिनको ४१.९० प्रतिशत अर्थात् ५५ हजार ६३० हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ। कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा पनि १.५६ प्रतिशतले घटेर ४ अर्ब ९० करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ।

उद्योगको क्षमता उपयोग ३१ प्रतिशतभन्दा कम

कर्णालीका नमुना उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो वर्षको ३९.१२ प्रतिशतबाट घटेर ३०.९८ प्रतिशतमा झरेको छ। राडीपाखी उत्पादन गर्ने उद्योगले ६६.६७ प्रतिशत क्षमता उपयोग गर्दा प्रशोधित दूध उत्पादन गर्ने उद्योगको क्षमता उपयोग १०.१९ प्रतिशत मात्रै रहेको छ।

केही उद्योगको उत्पादन बढे पनि प्रशोधित दूध, दाना, कागज र छालाका जुत्ता उत्पादनमा गिरावट आएको छ। यद्यपि, औद्योगिक कर्जा प्रवाह भने २५.६३ प्रतिशतले बढेर ५ अर्ब ७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

पर्यटक आगमनमा २७ प्रतिशतभन्दा बढी कमी

कर्णालीमा बाह्य पर्यटक आगमन २७.६८ प्रतिशतले घटेर २२ हजार १६३ मा झरेको छ। भारतबाट आउने पर्यटक ४६.३९ प्रतिशत, चीनबाट आउने ६७.६० प्रतिशत र अन्य मुलुकबाट आउने पर्यटक ३९.३९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

गैरसरकारी संस्थाका कार्यक्रम घट्नु तथा हवाई इन्धन र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण हवाई भाडा महँगिनुलाई पर्यटक घट्नुका कारणका रूपमा उल्लेख गरिएको छ।

यसको विपरीत घरजग्गा कारोबारमा भने सुधार देखिएको छ। घरजग्गा रजिस्ट्रेसन संख्या ८.३० प्रतिशतले बढेर १८ हजार ७३४ पुगेको छ। यसबाट प्राप्त राजस्व ७२.०४ प्रतिशतले वृद्धि भई ५७ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

बैंकमा निक्षेप बढ्यो, सेवा क्षेत्रमा कर्जाको ठूलो हिस्सा

२०८३ असार मसान्तसम्म कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल ४८१ शाखा सञ्चालनमा रहेका छन्। समीक्षा अवधिमा निक्षेप संकलन २२.०३ प्रतिशतले बढेर १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९.७९ प्रतिशतले वृद्धि भई ६६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

कुल प्रवाहित कर्जामध्ये ८५.२१ प्रतिशत सेवा क्षेत्रमा गएको छ। सेवा क्षेत्रमा गएको कर्जा ५७ अर्ब ५२ करोड रुपैयाँ रहेको छ, जसमा सुर्खेत जिल्लाको हिस्सा ६१.९८ प्रतिशत छ।

सडक पूर्वाधारमा कच्ची सडकको बाहुल्य

कर्णालीमा हालसम्म ४ हजार ३९२.०५ किलोमिटर सडक निर्माण भएको छ। तर, कुल सडकमध्ये ७५.४७ प्रतिशत अर्थात् ३ हजार ३१४.८४ किलोमिटर सडक अझै कच्ची रहेको छ। कालोपत्रे सडकको लम्बाइ २९९.३ किलोमिटर अर्थात् ६.८१ प्रतिशत मात्रै छ भने ग्राभेल सडक ७७७.९१ किलोमिटर रहेको छ।

प्रदेशका नौ विमानस्थलमध्ये छवटा मात्रै सञ्चालनमा छन्। भेरी बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६८ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।

वैदेशिक रोजगारीमा जानेको संख्या ३० हजारभन्दा बढी

समीक्षा वर्षमा कर्णालीबाट नयाँ तथा पुनः श्रम स्वीकृति लिएर ३० हजार ४९० जना वैदेशिक रोजगारीमा गएका छन्। राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५४४ आयोजनामार्फत ४ हजार ६७ जनाले रोजगारी पाएका छन्। उनीहरूले कुल २ लाख ८५ हजार ५६७ दिन बराबरको रोजगारी प्राप्त गरेका छन्।

प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को कुल बजेट खर्च २० अर्ब ११ करोड ६ लाख रुपैयाँ रहेको छ। यसमध्ये पूँजीगत खर्च ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँ र चालु खर्च ८ अर्ब ८० करोड ५२ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा प्रदेशको कुल राजस्व संकलन २०.४१ प्रतिशतले बढेर १० अर्ब ८८ करोड ८ लाख रुपैयाँ पुगेको छ। कुल राजस्वमा कर राजस्वको हिस्सा ९५.२९ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

समग्र तथ्यांकले कर्णालीमा कृषि र सेवा क्षेत्रको योगदान उल्लेख्य रहे पनि औद्योगिक गतिविधि, पर्यटन, सिँचाइ र सडक पूर्वाधारमा चुनौती कायम रहेको देखाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App