नेपालकै १० प्रमुख भन्सार नाकामध्ये कृष्णनगर भन्सारबाट आयात बढ्दै गएको छ भने निर्यात घट्दै गएको छ।
गत आर्थिक वर्ष २०८२/०८३ मा भारतबाट १६ अर्ब ५ करोड ४० लाख ६४ हजार मूल्यको वस्तुहरूको आयात भएको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने १३ अर्ब ३६ करोड ९८ लाख ९२ लाखको वस्तुहरू आयात गरिएको थियो।
अघिल्लो आर्थिक वर्ष भन्दा गत आवमा झन्डै पानै ३ अर्ब बढी मूल्यका सामानहरू भारतबाट आयात भएको देखिन्छ। भन्सारमा आयात वर्षैनी बढेको तथ्यांकबाट देखिएको भन्सारका सूचना अधिकारी मयंक कुमार कर्णले बताए।
भारतबाट सुद्ध फलाम, कोइला, चामल, सिसी बोतल काँचो, माल्ट, बदाम, आल्मुनियम टंकी कन्टेनर ड्रम, गहुँ, एटीएफ र फलामे धाउहरू यो नाकाबाट आयात गरिएको छ।
गत आर्थिक वर्ष २०८२/०८३ मा कृष्णनगर भन्सारबाट सबै भन्दा बढी ३ अर्ब ६५ करोड ५२ लाख ८८ हजारको ८ करोड १५ लाख ११ हजार १८० किलोग्राम सुद्ध फलाम आयात भएको थियो।
आर्थिक वर्ष २०८१/०८२ मा भने सुद्ध फलाम २ अर्ब ५९ करोडको ५ करोड ६५ लाख किलोग्राम आयात भएको थियो।
आर्थिक वर्ष २०८२/०८३ मा कोइला ३ अर्ब ३५ करोड ३५ लाखको २३ करोड ३७ लाख २५ हजार किलो आयात भएको थियो। जबकि आर्थिक वर्ष २०८१/०८२ मा ३ अर्बको १९ करोड ९१ लाख किलो कोइला भित्राइएको थियो।
आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ८४ करोड ९२ लाखको ३ करोड ६३ लाख ८१ हजार किलोग्राम चामल आयत भएको थियो। आर्थिक वर्ष ०८१/०८२ मा ३ अर्ब ३९ करोडको ४ करोड ९१ लाख किलोग्राम चामल आयात गरिएको थियो।
गत आव ०८२/८३ मा मात्र ३ अर्ब ४७ करोड २५ लाख मूल्य बराबरको बियर बनाउने कच्चा पदार्थ माल्ट (फरमेन्टेड जौ), बियरको सिसाको बोतल र बियरमा लगाउने बिर्को आयात भएको थियो।
गत आवमा एक अर्ब ९५ करोड बराबरको ७ लाख २९ हजार ४ सय ८३ ग्रुस काँचको बोतल आयात भएको थियो। एक ग्रुसमा एक सय ४४ बोतल हुन्छ।
०८१/८२ मा ९७ करोड २५ लाख ७५ हजार मूल्य बराबरको ३ लाख ३४ हजार ४ सय ६३ ग्रुस बोतल आयात भएको थियो। मूल्यका आधारमा धेरै आयात हुने वस्तुमा बदाम (मुमफली) छैटौँ नम्बरमा छ।
९१ करोड ४२ लाख मूल्य बराबरको ६ हजार ७ सय ३९ मेट्रिक टन बदाम (मुमफली) आयात भएको थियो। आर्थिक वर्ष २०८१/०८२ मा भने ७४ करोड ७४ लाखको ६० लाख ८५ हजार किलोग्राम मुमफली आयात भएको थियो।
गत आर्थिक वर्ष ६१ करोड २८ लाखको आल्मुनियम कन्टेनर ड्रम, ५७ करोड २८ लाखको १ करोड ४० लाख किलोग्राम गहुँ आयात गरिएको थियो। गत आर्थिक वर्ष ६३ करोड ६७ लाखको ४ हजार ४१६ केएल एटीएफ आयात भएको थियो। गत आर्थिक वर्ष ४६ करोडको फलामे धाउ आयात भएको थियो।
१ अर्ब ८५ करोडको सामान निर्यात
कपिलवस्तुको कृष्णनगर नाकाबाट गत आर्थिक वर्ष २०८२/९३ मा १ अर्ब ८५ करोड ५२ लाख ३३ हजारको प्रमुख १० वस्तुहरू आयात गरिएका छन्।
प्लाइउड सिमेन्ट खैरो, खोटो रोजिन, सिमेन्ट क्लिंकर, एसेन्सीयल आयल,तारपानीको तेल, अधै तयारी छडड्रन्डी भेनियर सिट, पिना अन्य र वानस्पातिक जडीबुटीबाट बुनिएका पदार्थहरू भारत निकासी भएका हुन्।
आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३६ करोड ५१ लाखको ती वस्तुहरू भारत निकासी गरिएको थियो। गत आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा ५० करोड कम सो सामानहरू भारत निकासी भएको देखिन्छ।
गत आर्थिक वर्ष सबैभन्दा बढी ८२ करोड ७४ लाखको १९ लाख ८४ हजार १०६ एमटीक्यु प्लाइउड भारत निकासी भएको थियो। यस्तै ५२ करोडको ४६ लाख ४९ हजार टन सिमेन्ट खैरो निर्यात भएको थियो।
२२ करोड ५५ लाखको खोटो रोजिन, ८ करोड ३३ लाखको सिमेन्ट क्लिङकर, ५ करोड २२ लाखको एसेन्सियल आयल, ५ करोडको तारपीनको तेल, ४ करोड ८८ लाखको अधै तयारी डन्डी, २ करोड ५१ लाखको भेनियर सिट, १ करोड ८२ लाखको पिना अन्य, ३२ लाख ४२ हजारको वानस्पातिकबाट बुनिएका पदार्थहरू निकासी भएका थिए।
गत आर्थिक वर्ष कृष्णनगर भन्सारमा ५ अर्ब ४४ करोड ५८ लाख ( लक्ष्यको ९३ प्रतिशत) राजस्व संकलन भएको थियो। कृष्णनगर नाका भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको सबैभन्दा नजिकको नेपाली बजार हो।
ब्रोडगेज रेल सेवा भारतका प्रमुख सहरसँग जोडिएको छ। त्यस्तै भारतका प्रमुख सहरसम्म दैनिक बस, जिप र भ्यानको सेवा सञ्चालनले कृष्णनगरलाई नजिक बनाएको छ।
मध्य नेपालको भारतसँग राम्रो यातायातको सम्पर्क जोडिएको केन्द्रका रूपमा समेत कृष्णनगर रहेको छ। प्रमुख भन्सार अधिकृत फणीन्द्र खतिवडाले नेपालमा वर्षौ देखि आयात बढेको बताए।
भन्सार कार्यालयमा पनि अन्यत्र जस्तो भीड नभई जुन दिन आयो उही दिन जाँच पास भएर लैजान सकिने हुँदा कृष्णनगर नाका बढी प्रयोग हुने गरेको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहले बताए।
प्रकाशित: ८ भाद्र २०८३ १८:३८ सोमबार