अर्थ

६ वर्षसम्म पनि बनेन कमला-कञ्चनपुर खण्ड

ठेकेदारको हेलचेक्र्याइँ,धुलोको मारमा स्थानीय, खलबलिँदै दैनिकी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको खण्ड स्तरोन्नति–निर्माणको ठेक्का पाएको चिनियाँ इन्जिनियरिङ ग्रुप नम्बर २ कम्पनीको लापर्बाहीले स्थानीय बासिन्दाको दैनिकी मात्र खलबलिएको छैन, होटल व्यवसाय, पसल–व्यापार, यात्रुको आवागमनसमेत नराम्ररी प्रभावित बन्न पुगेको छ।

 सडकको धुलोेले आजित लहानका बासिन्दाले निर्माणमा भएको ढिलासुस्तीको विरोधमा शुक्रबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लहान खण्ड गाडी रोकेर प्रदर्शन गरेका छन्। चिनियाँ निर्माण कम्पनी, स्थानीय प्रशासन र स्थानीय बासिन्दाबिच सहमति भएपछि दिउँसो १ बजेपछि सडकमा गाडी गुड्न थालेका छन्।

तीन पक्षबिच ठेकेदार कम्पनीले धुलो उड्न नदिन सडकमा बिहानदेखि रातिसम्म पाँच पटक पानी छर्किनुपर्ने, अप्रिल १५ तारिखदेखि सडक निर्माण कार्यलाई गति दिनुपर्नेलगायतका सहमति भएको छ। कम्पनीका निर्माण प्रमुख माओ योङ, इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कैलाश राई र स्थानीय बासिन्दाबिचको छलफल सहमतिमा पुगेपछि विरोध प्रदर्शन फिर्ता लिइएको हो।

स्थानीय अगुवा सुभास जयसवाल भन्छन्, ‘चार वर्षदेखि धुलोमा सास फेर्दा बिरामी भैसकें। छालाको एलर्जीदेखि रुघाजन्य संक्रमण कहिल्यै निको हुँदैन। डाक्टरले धुलोबाट बच्न सल्लाह दिएका छन् तर घरबाहिर निस्किनेबितिकै धुलोको सामना गर्नुपर्ने बाध्यता छ। घरमा त झ्याल बन्द गरेर जोगिन सकिन्छ तर बाहिर निस्कँदा कसरी जोगिनु? घरको झ्यालसमेत नखोलेको वर्षौं भैसक्यो।’

लहान–३ का डेरी व्यवसायी रामनन्दन साह भन्छन्, ‘सडकको छेवैमा रहेको पसल धुलोले भरिन्छ। धुलोबाट जोगिन सटर झार्नुपर्छ। सटर झारेर कसरी व्यापार गर्नु? चिनियाँ कम्पनीको लापर्बाहीका कारण धुलोमा सास फेर्न थालेको वर्षौं भैसक्यो। निर्माण कम्पनीले सबै सडक भत्काएर अलपत्र छाडिदिएका कारण धुलो उड्दा सकस भैरहेको छ।’

लहान–३ कै हरिओमप्रकाश साह भन्छन्, ‘भत्काइएको सडकबाट उड्ने धुलो नियन्त्रणका लागि समयसमयमा पर्याप्त पानी छर्कनुपर्ने हो तर नछर्कंदा धुलोले व्यापार मात्रै चौपट भएको छैन श्वासप्रश्वासमा समेत समस्या भएको छ।’

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–कञ्चनपुर खण्डको ८६.८२ किलोमिटर निर्माणको ठेक्का चिनियाँ इन्जिनियरिङ ग्रुप नम्बर २ कम्पनीले पाएको छ। कम्पनीले निर्माण सम्झौता पालना नगर्दा यस भेगका सर्वसाधारण चार वर्षदेखि धुलोमा सास फेर्न बाध्य भएका हुन्।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायुमण्डलमा पिएम २.५ को स्तर वार्षिक सरदर ५ माइक्रोग्राम प्रतिघनमिटर तोकिएको छ। हावामा रहेका धुलोका सूक्ष्म कणलाई पिएम २.५ भनिन्छ । कमलादेखि कञ्चनपुरसम्मको एयर क्वालिटी पिएम २.५ भन्दा कम छ।

नेपालको सन्दर्भमा वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भए त्यो गुणस्तरीय हुने भनेको छ। अमेरिकाको युनिभर्सिटी अफ सिकागोले दुई वर्षअघि स्याटलाइट माध्यमबाट गरेको अध्ययनअनुसार मधेस प्रदेशका जिल्लाहरूमा न्यूनतम ६८ देखि ८१.७ माइक्रोग्राम प्रतिघनमिटर पिएम २.५ को स्तर पाइएको छ। यो स्तरको प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठुलो खतरा रहेको युनिभर्सिटी अफ सिकागोको प्रतिवेदनमा उल्लेख छ।

कमला–कञ्चनपुर सडक योजनाअन्तर्गत सडक निर्माण अवधिमा धुलो उड्न नदिन ठेकेदार कम्पनीले नियमित पानी हाल्नुपर्ने सम्झौतामा उल्लेख छ तर यसको पालना भएको छैन। सम्झौता पालना गराउनुको साटो नियामक सरकारी निकाय ने ठेकेदारकै पृष्ठपोषणमा लागेको आरोप स्थानीय बासिन्दाको छ। ठेकेदार पक्ष भने निर्माण कार्य भइरहँदा धुलो उड्नु सामान्य भएको ठान्छ। ‘निर्माण नसकिएसम्म धुलो त उडिहाल्छ नि। डाइभर्सनमा गाडी चलेपछि खाल्डो पनि हुन्छ,’ ठेक्केदार कम्पनीका अधिकारीको जिकिर छ।

आयोजना प्रमुख डिभिजनल इन्जिनियर उज्वल श्रेष्ठका अनुसार ठेक्केदार कम्पनीको ढिलासुस्तीका कारण तीन वर्षमा सकिनुपर्नेमा अझै पूरा भएको छैन। पटकपटक सम्झौता पालना गर्न आग्रह गर्दा ठेकेदार कम्पनील अटेर गरेको उनी बताउँछन्।

 जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष प्रदीप गुप्ताका अनुसार राजमार्ग खण्ड निर्माणमा विलम्ब गर्दा व्यापार पूर्ण रुपमा प्रभावित बनेको छ। तीव्र गतिमा काम गर्न ताकेदा गर्न पनि सुनवाइ नभएको उनको गुनासो छ। श्रेष्ठका अनुसार ठेकेदार कम्पनीले धुलो नियन्त्रणका लागि नियमित पानी छर्किनुपर्ने सम्झौतामा उल्लेख भएको बताए। ‘हामीले नियमित पानी छर्किन ठेकेदार कम्पनी र कन्सल्ट्यान्टलाई निरन्तर ताकेता गरिरहेका छौं,’ उनले भने।

धुलोका कण मानिसको फोक्सोको भित्री तहसम्म पुग्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी अन्य रोग निम्त्याउन सक्ने चिकित्सक बताउँछन्। २.५ माइक्रोमिटरभन्दा कम व्यास भएका प्रदूषक कणहरू सास फेर्दा भित्र जाने खालका हुन्। यस्ता कण फोक्सो र रक्तप्रवाहमा प्रवेश गरी गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छन्। यसको सबैभन्दा गम्भीर प्रभाव फोक्सो र मुटुमा पर्छ। खोकी लाग्ने वा सास फेर्न गाह्रो हुने, दम बढ्ने र दीर्घकालीन श्वासप्रश्वास रोग लाग्न सक्छ।

प्रादेशिक अस्पताल लहानका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार पछिल्लो समय अस्पतालमा प्रदूषणका कारण दम, श्वासप्रश्वास र छालासम्बन्धी संक्रमणका बिरामीको चाप बढेको छ। ‘गर्मीमा मानिसको शरीर पसिनाले भिज्छ र त्यसमा धुलोका कण टाँसिन्छन्,’ उनले भने, ‘पसिना सुकेपछि ती कणका कारण छाला चिलाउने समस्या निम्तिन्छ।’

चिलाउँदा छालाको संक्रमण सिर्जना हुने उनको भनाइ छ। दमका रोगीलाई पनि प्रदूषणले गम्भीर असर पारेको पाइएको उनले बताए। धुलोको कण मिश्रित हावामा सास फेर्न बाध्य यस भेगका दम रोगीमा श्वासप्रश्वासको समस्या देखिएको छ। रक्तचाप र मुटुका बिरामीलाई यसबाट नकारात्मक असर पुगेको पाइएको उनले बताए।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक योजनाको कमला पुलदेखि कञ्चनपुरसम्मको ८६.८२ किलोमिटर सडकमध्ये मुख्य सहर लहान–गोलबजार–मिर्चैया सडक खण्डको नियति हो–घाम लागे धुलो, पानी परे हिलो। ६ वर्षअघि यस खण्डको विस्तार तथा निर्माणको काम अघि बढेपछि यस क्षेत्रका बासिन्दा र यात्रुले धुलो र हिलोसँग दैनिकी बिताउनुपरेको छ।

सडक विस्तारका क्रममा भत्काउँदा निस्किएका अवशेष र संरचना अलपत्र छन्। भत्काइएका नाला पनि त्यतिकै छन्। नाला व्यवस्थित नहुँदा लामखुट्टेको प्रकोप बढेको छ। पसल, घरअगाडिको सडकमा फोहोर पानी जम्मा भएर दुर्गन्ध फैलिरहेको स्थानीय बताउँछन्। ‘विस्तार गरिएको कच्ची सडकमा पानी नछर्किंदा धुलोले घर भरिन्छ,’ स्थानीय शंकर साहले भने, ‘धुलोमा सास फेर्नुपर्ने बाध्यता छ। एक महिनादेखि खोकी बल्झेर हैरान छु। डाक्टरले धुलोसँग बच्नुस् भन्छन्। घरभरि, सहरभरि धुलो छ कसरी बच्नु?’

कमला–कञ्चनपुर सडक आयोजनाको निर्माण लागत १५ अर्ब ६६ करोड ४४ लाख हजार नौ सय ३८ रुपैयाँ छ। योजनाअन्तर्गत चार लेनको सडक ७०.३३ किलोमिटर, ६ लेनको सडक १६.४९ किलोमिटर र दुई लेनका ५४ पुल र आठ वटा अन्डरपास निर्माण हुनेछन्।

कञ्चनपुर–कमला सडक योजनाको पूर्वी खण्ड ३९.४२ किलोमिटर स्तरोन्नति गरी कालोपत्रे गरिने छ। ६.०८ किलोमिटर सडक ६ लेनमा विस्तार गरिँदैछ। ३३.३४ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य छ।

कञ्चनपुर कमला सडक योजना पश्चिम खण्डअन्तर्गत ३६.९९ किलोमिटर सडक चार लेनमा विस्तार गरिँदैछ। १०.४१ किलोमिटर सडक ६ लेनमा विस्तार र स्तरोन्नति गरिनेछ। यो खण्डमा २५ वटा पुल निर्माण गरिने भएको छ। चार लेनको सडकको इन्टरसेक्सनमा सडकको तहभन्दा माथि दुई ओभर पास निर्माण गरिँदै छ। तीमध्ये एउटा लहान र अर्को मिर्चैयामा निर्माण गर्ने योजना छ।

तीन वर्षमा सक्नुपर्ने निर्माण ६ वर्षसम्म अधुरै

यो सडक खण्ड स्तरोन्नति–विस्तार–निर्माणका लागि चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले २०२० जुनमा ठेक्का पाएको थियो। उसले २८ अक्टोबर २०२३ मै चार लेन सडक, पुल, कल्भर्ट, बाइपास बनाइसक्नु पर्ने थियो तर त्यसअनुसार हुन सकेन। त्यसयता तीन पटक म्याद थपिएको छ। २८ अक्टोबर २०२३ मा १४ महिना र त्यसपछि १२ महिनाको म्याद थपियो पछिल्लो समय ६ महिनाको म्याद थपिएर अब जुन महिनाभित्र कम्पनीले निर्माणको काम सक्नुपर्ने सम्झौता छ तर काम भने अझै ३३ प्रतिशत जति बाँकी छ।

प्रकाशित: २१ चैत्र २०८२ ०६:५२ शनिबार