अर्थ

जैमिनी नगरपालिकाको बजेट ७६ करोड ८८ लाख

बजेट प्रस्तुत गर्न जाँदै उपप्रमुख हरिहर शर्मा। तस्बिर: संगम/नागरिक<br>

जिल्लाको जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ लागि ७६ करोड ८८ लाख बराबरको बजेट प्रस्तुत गरेको छ।

जैमिनी नगरपालिकाको १९ नगर सभाको अधिवेशनमा नगर उपप्रमुख हरिहर शर्माले उक्त अनुमानित बजेट प्रस्तुत गरे।

शर्माले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकार राजस्व बाँडफाँडबाट ९ करोड १७ लाख ९ हजार, सङ्घीय सरकार वित्तीय समानीकरण अनुदान ११ करोड १३ लाख, सङ्घीय सरकार सशर्त (चालु तथा पुँजीगत) ४२ करोड ५४ लाख रुपैयाँ आम्दानी हुने उल्लेख गरिएको छ।

बजेटमा सङ्घीय सरकार समपूरक अनुदान दुई करोड तीन लाख, प्रदेश सरकारको राजस्व बाँडफाँड एक करोड एक लाख ९ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान एक करोड ४३ लाख २२ हजार, प्रदेश सरकार समपूरक अनुदान ६० लाख आम्दानी हुने जनाइएको छ।

उपप्रमुख शर्माले प्रदेश सरकार विशेष अनुदान ४० लाख, सडक बोर्ड नेपाल ६० लाख, गत आर्थिक वर्षको मौज्दात ६ करोड ४१ लाख १० हजार, आन्तरिक स्रोत र राजस्वबाट एक करोड ५५ लाख ५० हजार गरी ७६ करोड ८८ लाख आम्दानी हुने जनाएका छन्।

नगरपालिकालाई प्राप्त हुने ४२ करोड ५४ लाख सशर्त अनुदान तोकिए अनुसार परिचालन हुने र बाँकी ३४ करोड २४ लाख रुपैयाँ विभिन्न शीर्षकमा विनियोजन गरिएको उपप्रमुख शर्माले बताए।

शर्माले सामाजिक विकासतर्फ ५ करोड ६६ लाख ९३ लाख पाँच सय ५८ रुपैयाँ बजेट विनियोजन गरेका छन्। सामाजिक विकास अन्तर्गत लिड विद्यालयका लागि १५ लाख, बालमैत्री स्थानीय शासन दिगोपन कार्यक्रमका लागि ५१ लाख ५० हजार, बाल सहजकर्ता, विद्यालय कर्मचारी, प्र.अ.हरुको लागि प्रोत्साहनलाई निरन्तरता दिन एक करोड १३ लाख बजेट विनियोजन गरिएको छ।

जैमिनीले गुणस्तरीय शिक्षाका आधारशिला, सुधारिएको पाठशाला भन्ने नाराका साथ शिक्षाको न्यूनतम सेवा गुणस्तर मापदण्ड इएमएसएस लागु गर्ने, उत्कृष्ट वर्ष विद्यालय, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन र पुरस्कार वितरण गर्ने, प्राविधिक धारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम ल्याइएको छ।

खेलकुदका लागि ३६ लाख रकम विनियोजन गरेको शर्माले जनाएका छन्। एआई ल्याब स्थापनाका लागि पाँच लाख र नवप्रवर्तन र अनुसन्धानका लागि १० लाख बजेट विनियोजन गरिएको छ।

जैमिनी नागरिक स्वास्थ्य उपचार कोषका लागि ३० लाख, वडा नम्बर-९ का स्वास्थ्य चौकी भवन पूर्वाधारका लागि ९० लाख, वडा नम्बर-३ का भवन पूर्वाधारका लागि २० लाख बजेट विनियोजन गरिएको छ।

नगरपालिकाले जैमिनीकी छोरी कार्यक्रमलाई बचत खातामा जम्मा हुने रकम दोब्बर हुने व्यवस्था गरेको छ। आवास विहीनलाई आवास निर्माणका लागि ३१ लाख ५० हजार, असह्य, अनाथ र अपाङ्गता भएका नागरिकको जीवन रक्षाका लागि मानव सेवा आश्रमसँग साझेदारी गर्न १० लाख बजेट व्यवस्था गरिएको छ।

उपप्रमुख शर्माले आर्थिक विकासतर्फ एक करोड ८८ लाख २५ हजार रुपैयाँ विनियोजन गरेका छन्। उक्त बजेटबाट जैमिनीका किसानलाई परिचयपत्र, नस्ल सुधार, दूधमा उत्पादनको आधारमा अनुदान, सिँचाइ प्रवर्द्धन, किसानका लागि निःशुल्क कल सेन्टर, व्यावसायिक राँगो तथा व्यावसायिक गोरु पालक कृषकलाई प्रोत्साहन र पाडा-पाडी संरक्षण कार्यक्रम ल्याइएको छ।

केरा खेती विस्तार, सुन्तलाजात फलफूल बालीको नयाँ पकेट विकास कार्यक्रम, बाहिरबाट बसाइँ सरेर आएका युवाका लागि जैमिनी प्याकेज कार्यक्रम, कृषि एम्बुलेन्स, एकल महिला, पुरुषलाई बाख्रा अनुदान लगायतका कार्यक्रम ल्याइएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि घुम्ती कोष, विद्यार्थीलाई नौमती बाजाको व्यावसायिक तालिमको व्यवस्था गरिएको छ।

नगरपालिकाले पूर्वाधारतर्फ ११ करोड ८२ लाख ९१ हजार चार सय ४२ रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसबाट नगरपालिका भित्रका १३ वटा दिगो सडक स्तरोन्नति, कुश्मीसेरा, सर्कुवा विहारथला सडक लगायतका सडकहरूमा साझेदारी लगानी गरिनेछ।

नगरपालिकाको प्रशासनिक भवन आगामी आर्थिक वर्षमा मंसिरसम्म पूरा गर्ने लक्ष्य राखिएको छ। नगरपालिकाले विपद् व्यवस्थापनमा ६१ लाख ४० हजार र सुशासन तथा संस्था विकासका लागि ४९ लाख ५० हजार बजेट विनियोजन गरेको छ।

प्रकाशित: ८ असार २०८३ १६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App