तीस करोड खर्चेर सुनसरी देवानगञ्जका खेतखेतमा सिँचाइ सुविधा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाले किसानलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सिँचाइका लागि विद्युतीकरण परियोजना सञ्चालन गर्न लागेको हो।
परियोजनाअन्तर्गत हालसम्म गाउँपालिकाले १६ करोड ८४ लाख रुपैयाँ खर्च गरिसकेको छ। कुल लागतको बाँकी ४० प्रतिशत लगानी नेपाल विद्युत् प्राधिकरणले प्राविधिक तथा अन्य विविध सहयोगमार्फत व्यहोर्ने व्यवस्था छ। परियोजना सम्पन्न भएपछि गाउँपालिकाका किसानले विद्युतको माध्यमबाट खेतमा सिँचाइ सुविधा पाउने छन्।
गाउँपालिकाले ‘सुखी किसान हाम्रो पहिचान’ भन्ने मुख्य नारासहित किसानका निम्ति लोकिप्रय कार्यक्रम लागू गर्न लागेको हो। गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर गाउँपालिकाभर सिँचाइको सुविधाका लागि बर्सेनि बजेट छुट्याएर योजना पुरा हुने चरणमा पुगेको बताए।
‘प्रत्येक वडाका खेतमा विद्युतीकरण भइसकेकाले गर्दा अब किसानको हरेक बालीनाली लगाउँदा पैसा बचत हुन्छ । अनि गाउँपालिका क्षेत्रका जनताको अटोमेटिक समृद्धि हुँदै जान्छ,’ गाउँपालिका अध्यक्ष मेहताले भने, ‘सम्पूर्ण जनताका लागि कसैलाई पक्षपात नगरिकन के काम गर्न सकिन्छ? भनेर योजना बनाउँदा यसलाई मुख्य प्राथमिकतमा राखेर काम थाले, अब यसको केही दिनभित्रमै औपचारिक सुभारम्भ हुनेछ।’
उनका अनुसार प्रत्येक स्थानमा ट्रान्सफर्मर जडान गरिसकिएको छ। मिटर बक्स जडान गर्न विद्युत प्राधिकरणलाई पैसा पठाई सकिएको छ। मिटर बक्स जडान गरिसकेपछि यसको औपचारिक रूपमा सुरुवात गरिनेछ।
गाउँपालिकाले सिँचाइ विद्युतीकरण परियोजना सञ्चालनले किसानलाई ठूलो सफलता प्राप्त हुने वडा नं. २ का रमेश मेहताले बताए। ‘गाउँपालिकाले सिँचाइका लागि विद्युतीकरण योजना अब चाँडैदेखि सुचारू गर्न लागेको छ,’ उनले भने, ‘विद्युतीकरण योजना चालु भएपछि थोरै खर्चमा सिँचाइ सुविधा उपयोग गर्न पाइन्छ।’
उनको आठ विघा खेती गर्दा पम्पसेटमार्फच धेरै नै खर्चिलो हुने गरेको छ। ‘खेतीमा पानी लगाउँदा मेरो त पम्पसेट आफ्नै छ, नहुनेले त त्यो पम्पसेटको प्रतिघण्टा दुई सय रुपैयाँ अलगै शुल्क पनि तिर्नुपर्छ,’ उनले भने।
देवानगञ्ज गाउँपालिका क्षेत्रमा छ हजार ८४५ परिवार कृषि पेशामा आबद्ध छन्, जसमा चार हजार ६२५ हेक्टर कृषियोग्य क्षेत्रफल रहेको छ।
प्रकाशित: १३ कार्तिक २०८३ ११:२६ शुक्रबार