बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत (४३९ मेगावाट) परियोजनाका लागि लगानी स्वीकृत भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको लगानी बोर्डको बैठकले ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपैयाँ बराबरको अनुमानित लगानी स्वीकृत गरेको हो। प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, बैठकले परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि गरेको छ।
यस्तै बैठकले गत आर्थिक वर्षको लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना स्वीकृत गरेको छ। तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट)को उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि भएको रावलले बताए।
बैठकले अरुण ३ जलविद्युत परियोजना (९०० मेगावाट) को सिधा सम्झौताको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तथा पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजना (८०० मेगावाट)को सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गरेको छ।
प्रकाशित: ३ मंसिर २०८२ १७:०६ बुधबार