कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाले शेराबाडा–पदमघाट–महावै सडक निर्माण तथा स्तरोन्नति आयोजनाको ठेक्का कार्यान्वयनका लागि पूर्वाधार विकास कार्यालय, कालीकोटलाई हस्तान्तरण गरेको छ।
प्रदेश आयोजना व्यवस्थापन एकाइ, वीरेन्द्रनगर सुर्खेतले आयोजना पूर्वाधार विकास कार्यालय कालीकोटलाई हस्तान्तरण गरेको हो।
आयोजनाअन्तर्गत शेराबाडा–पदमघाट–महावै ६ किलोमिटर सडकखण्ड निर्माण तथा स्तरोन्नति गरिनेछ।
आयोजना हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले अब आयोजना सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताइन्।
महावै गाउँपालिका जाेड्ने सडककाे काम छाेटाे हुनेमा स्थानीय विश्वस्त रहेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। पक्की सडक सञ्चालन निमार्ण हुने भएपछि महावै क्षेत्रका बासिन्दालाई आवतजावत गर्न र स्थानीय कृषि उपज बजारसम्म पुऱ्याउन ठूलो सहजता मिल्ने अपेक्षा गरिएको उनको भनाइ छ।
कालीकोटको महावै गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिएको छैन। दुर्गम भूगोलका कारण यातायात पहुँचको समस्या भोग्दै आएको महावैलाई प्रदेश सरकारको सडक सञ्जालमा जोड्ने प्रक्रिया अघि बढेको हाे।
उक्त कार्यक्रममा प्रमुख लगानीकर्ता विश्व बैंक, सीबीसीयू टिम, डिजाइन संस्था 'गो ल्याब बुटवल' तथा सम्पूर्ण प्राविधिक टोलीलाई समेत सहभागीता रहेको थियो।
प्रकाशित: २ आश्विन २०८३ १३:३८ शुक्रबार



