अर्थ

इनरुवा–कप्ताङगञ्ज सडकको ठेक्का तोडियो, निर्माण कम्पनीको १९ करोड जफत

फाइल।

हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडक खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ।

निर्माणको जिम्मा पाएको कम्पनीले सम्झौता अनुसार काम नगरेको र पटक-पटकको ताकेतापछि पनि कार्यप्रगति नदेखिएपछि सडक विभागले ठेक्का तोडेको हो।

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको योजना कार्यालय इटहरीले मंगलबार एक सूचना जारी गर्दै २२.६६ किलोमिटर सडक निर्माणको जिम्मा पाएको ‘गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगर’ सँगको सम्झौता अन्त्य गरेको जनाएको हो।

उक्त जेभीसँग २०७८ माघ २ गते ५२ करोड ७० लाख रुपैयाँ (करसहित) मा सडक स्तरोन्नतिको सम्झौता भएको थियो। सम्झौता अनुसार २०८१ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो। म्याद थप गरी २०८३ असारसम्म पुर्‍याइए पनि हालसम्म भौतिक प्रगति करिब १८ प्रतिशत मात्र देखिएको छ।

कार्यालयका अनुसार, निर्माण व्यवसायीले साइटमा काम ठप्प पारेको, प्रतिबद्धता अनुसार स्रोत परिचालन नगरेको र कार्यतालिका पेश गर्न नसकेकाले ठेक्का तोडिएको हो।

सार्वजनिक खरिद ऐनअनुसार ठेक्का तोडिएसँगै निर्माण कम्पनीको बैंक ग्यारेन्टी र पेस्की रकम जफत हुने भएको छ।

उक्त निर्माण कम्पनीले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेर ठेक्का हात पारेको थियो।

योजना कार्यालयले गत साउनमा ‘ठेक्का किन नतोड्ने ?’ भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधेको थियो। तर, व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएको, विश्वसनीय कार्ययोजना पेस गर्न नसकेको र काम सुचारु गर्न तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन र ठेक्का सम्झौताका शर्त बमोजिम ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ।

कार्यालयले निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। साथै, अब बाँकी काम पूरा गर्न लाग्ने थप रकम पनि सरकारी बाँकी सरह यसै कम्पनीबाट असुल उपर गरिने जनाइएको छ।

प्रकाशित: १६ मंसिर २०८२ १०:१४ मंगलबार