अर्थ

मौद्रिक नीतिको प्रभाव, १३ बैंकले ब्याजदर घटाए

मौद्रिक नीतिको प्रभाव बैंकको ब्याजदरमा परेको छ ।  वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्ष २०८२/८३को पहिलो महिना साउनका लागि ब्याजदर घटाएका छन् । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरका सबै दरलाई घटाए सँगै बैंकहरूले ब्याजदर घटाएका हुन् ।

बैंकहरुले साउनका लागि आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १३ वटा बैंकले ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंक मध्ये ४ वटाको स्थिर हुँदा २ वटाले ब्याजदर बढाएका छन् । 

नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२ प्रतिशत बिन्दुले घटेको छ । असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औषत ब्याजदर ६.९१ प्रतिशत रहेकामा साउनमा घटेर ६.७३ प्रतिशत निर्धारण गरेका छन्।

नयाँ ब्याजदर अनुसार साउनका लागि नेपाल बैंकको ब्याजदर ५.४० प्रतिशत, कृषि विकास बैंकका ५.४० प्रतिशत कायम गरेका छन् । त्यसैगरी, लक्ष्मी सनराइज बैंकले ५.७५ बाट ५.५० प्रतिशतमा झारेको छ । त्यसैगरी, प्रभुले ६.१० बाट साउनमा ४.२५ प्रतिशतमा झारेर कायम गरेको छ ।

त्यसैगरी, कुमारी बैंकले ५.७१ बाट ५.४१ प्रतिशत, प्राइम बैंकले ६.२५ बाट ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ बाट ५।५० प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० बाट ५.३५ प्रतिशत, सिटिजन्स बैंकले ५.६५ बाट ५.५० प्रतिशत, सानिमा ६.१८ प्रतिशत, एभरेष्ट बैंकले ६.५५ बाट ६.२५ प्रतिशत कायम गरेका छन् । त्यसैगरी, माछापुच्छ्रे बैंक , सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंकले ब्याजदर यथावत् राखेका छन् । हिमालयन बैंकले ब्याजदर बढाएर ६ प्रतिशत, स्टान्डर्ड चार्टड बैंकले ६.२६ पुयाएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति २०८२/८३ मार्फत केन्द्रीय बैंकले बैंकदरलाई ६.५ प्रतिशतबाट ६, नीतिगत दरलाई ५ बाट ४.५ र निक्षेप संकलन दरलाई ३ बाट २.७५ प्रतिशतमा झारेको थियो ।

प्रकाशित: ३२ असार २०८२ १२:१५ बुधबार

#NagarikNews #NepaliNews