अर्थ

नेपाल महिला उद्यमी महासङ्घ र उमेटो पार्टनर्सबीच महत्त्वपूर्ण साझेदारी

नेपाल महिला उद्यमी महासङ्घ र उमेटो पार्टनर्सबीच एक रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

महासङ्घको काठमाडौंस्थित महिला उद्यमीको सचिवालयमा सम्पन्न समझदारीले नेपालभरिका महिला उद्यमीहरूलाई सशक्त बनाउने अध्यक्ष शोभा ज्ञवालीले बताइन्।

‘यो स्थानीय बजार प्रणालीहरूलाई बलियो बनाउने दिशामा एक महत्त्वपूर्ण कदम हो,’ ज्ञवालीले भनिन्, ‘यसले सिङ्गो नेपालका महिला उद्यमीलाई एकै ठाउँमा ल्याउने छ।’

सम्झौता पत्रमा अध्यक्ष ज्ञवाली र उमेटो पार्टनर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले हस्ताक्षर गरेका छन्।

उक्त अवसरमा फेवान निर्देशक अभिलाषा पौडेल र उमेटो पार्टनर्सकी व्यवसाय विकास अधिकृत शिक्षा अर्याल साक्षीका रूपमा उपस्थित थिए। ‘महिला सशिक्तकरणमा सहयोग हुने अपेक्षा गरेका छौं,’ प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले भने, ‘यसबाट हामी थप उत्साहित भएका छौं।’ 

उमेटो पार्टनर्स नेपालकै सबैभन्दा ठुलो डाइरेक्ट–टु–कन्ज्युमर (डि टु सि) प्लेटफर्म हो। यसले उपभोक्तालाई सिधा उत्पादक, निर्माणकर्ता तथा सेवा प्रदायकहरूसँग जोड्छ।

स्थानीय नवप्रवर्तनलाई समर्थन गर्ने प्रतिबद्धताका साथ उमेटोले नेपालमै बनेको ‘मेडइन नेपाल’ उत्पादनहरूलाई प्रवर्द्धन र समर्थन गर्दै महासङ्घको उद्देश्य र दृष्टिकोणसँग समन्वय गर्ने पोखरेलले बताए।

यसले स्थानीय उत्पादकहरूलाई सशक्त बनाउन र तिनीहरूको राष्ट्रिय बजार पहुँचलाई विस्तार गर्न सहयोग पुर्‍याउने उनको विश्वास छ।

साझेदारीबाट उमेटोको प्लेटफर्महरूमा महिला नेतृत्वमा बनेका उत्पादनहरूको प्रवर्द्धन, तालिम, मार्केटिङ र डिजिटल बिक्री उपकरणहरूमा पहुँच पुग्ने छ।

यसबाट नवप्रवर्तन, दिगो अभ्यास र नैतिक व्यापारको प्रोत्साहन सदस्यहरूलाई विशेष सुविधा जस्तै, छुट, डेलिभरी सेवा, र अनलाइन दृश्यता प्रदान गर्ने छ।

एफडब्ल्यूईएएन र उमेटो पार्टनर्ससँगै मिलेर समावेशी आर्थिक वृद्धिमा योगदान, डिजिटल उद्यमशीलताको प्रवर्द्धन, र महिला नेतृत्वमा सञ्चालित व्यवसायहरूलाई बलियो बजार पहुँच प्रदान गर्ने प्रतिबद्धतासाथ अघि बढिरहेको उनीहरूले बताएका छन्।

प्रकाशित: ८ श्रावण २०८२ १४:३० बिहीबार

fwean