अर्थ

इलाम-झापा फास्ट ट्र्याकको ठेक्का तोडिने

इलाम–झापा फास्ट ट्र्याकको एक खण्ड। तस्बिरः भीम/नागरिक

पटक–पटक म्याद थप्दा पनि निर्माण प्रगति चित्तबुझ्दो गतिमा अघि नबढेपछि केचना कञ्चनजंघा सडकअन्तर्गत (इलाम–झापा फास्ट ट्र्याक)को ठेक्का तोडिने भएको छ।  

इलाम भ्रमणमा आएका संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनील लम्सालले यो सडकको बेलासे–राकसे–गोलाखर्क भञ्ज्याङ खण्डको ठेक्का तोड्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका छन्।

साढे ९ किलोमिटरको यो ठेक्काको काम ज्यादै सुस्त भएपछि ठेक्का तोड्न मन्त्रीबाट निर्देशन भइसकेको डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिए। झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म जोड्ने मेची करिडोरअन्तर्गतको यो सडक निर्माणमा चरम आलटाल भइरहेको थियो। समयमा सडक निर्माण नहुँदा सास्ती बेहोरिरहेका स्थानीय आक्रोशित बन्नथालेका थिए। ‘मन्त्रीज्यूको निर्देशनअनुसारको फाइल आज–भोलि नै मन्त्रालयमा पेस गर्दैछौं,’ डिभिजन प्रमुख भट्टराईले भने।

खड्का–कृष्ण–सक्षम जेभीले २०७८ असार २९ मा २ वर्षमा काम सक्नेगरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो। तर, ५ वर्ष बित्दा आधा काम पनि गर्न नसकेको हो। कालोपत्रेसम्मको काम सक्नेगरी ठेक्का लागेकामा ५ वर्ष बित्नलाग्दा ४६ प्रतिशतमात्रै भौतिक प्रगति भएको डिभिजनले जनाएको छ।  

‘सडक चौडा बनाउने, नाली, टेवा पर्खाल, ह्युम पाइप, कल्भर्ट, सब बेस, बेस र कालोपत्रे गर्ने काम ठेक्कामा रहेपनि १ फिट पनि कालोपत्रेको काम भएकै छैन। न त बेस नै बनेको छ,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘अहिलेसम्म ५–६ किलोमिटर सब बेससम्म बनाइएको छ, त्यो पनि कामको ढिलाइले पानीले बगाएर क्षतविक्षत बनाउँदैछ।’  

पटक–पटक म्याद थप्दा पनि ठेकेदार आफैँले दिएको कार्यतालिकाअनुसार काम नभएपछि ठेक्का तोड्ने अवस्था आएको प्रमुख भट्टराई बताउँछन्। ‘निर्माण व्यवसायीलाई डिभिजनले १२÷१३ पटक स्पष्टीकरण सोध्यो, मन्त्रीको सचिवालयले समेत बोलाएर स्पष्टीकरण लिँदा काम सक्ने प्रतिबद्धता आएको थियो,’ उनले भने, ‘तर, काम सकिने लक्षण देखिएन। अहिले पनि दिनहुँ ४ जनाले नाली बनाउनेबाहेक अरू काम भएको देखिँदैन।’  

आर्थिक वर्ष २०८०/०८१ मा ठेकेदारको लापरबाहीकै कारण ५ करोड हाराहारी रकम फ्रिजसमेत भएको थियो। अघिल्लो वर्ष पनि निर्माणमा ढिलासुस्तीकै कारण यो सडकको १४ करोड हाराहारी बजेट फ्रिज भएको थियो।  

साढे नौ किलोमिटरको यो खण्डको २०७८ असार २९ मा लागेको ठेक्काको म्याद २०८० पुस २९ सम्म थियो। तर, काम नसकिएपछि ०८२ असार १८ मा सक्ने गरी म्याद थपिएको थियो। त्यसपछि २०८२ फागुनमा पुनः २०८३ असोजमा काम सक्ने गरी म्याद थप गरिएको थियो। ‘निर्माण व्यवसायीले गरेको काम सन्तोषजनक छैन, ज्यादै सुस्त गतिमा छ,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘काम गरेजस्तो देखाउनेमात्रै भयो।’

खड्का–कृष्ण–सक्षम जेभीले भने समयमा मेसिन नआउँदा काममा ढिलाइ भएको जवाफ दिने गरेको छ। कम्पनीका प्रतिनिधि श्याम श्रेष्ठले पहिला आफूहरूलाई चाहिने मेसिन भारतबाट डेढ महिना ढिलो आएका कारण कालोपत्रे गर्न समय नपुगेको जवाफ दिएका थिए। उनले भनेका थिए, ‘ठेक्का लागेका बेला कामको गति तीव्र थियो, सरकारले कामको भुक्तानी गर्न सक्ने अवस्था थिएन, बजेट भएका बेला मेसिन बेलैमा आएन। विभिन्न समस्यासमेत आइलागे।’

गत असोजमा मेची राजमार्गको राजदुवालीमा पहिरो गएर आउ–जाउ ज्यादै कष्टप्रद छ। यस्तो बेलामा केचना–कञ्चनजंघा सडकलाई वैकल्पिक रूपमा प्रयोग गर्ने योजना रहे पनि कामको गति अघि नबढेपछि इलाम, पाँचथर र ताप्लेजुङका यात्रुले सास्ती खेपिरहेका छन्।

प्रकाशित: ७ असार २०८३ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App