नेपालमा विश्वस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यसहित आईआईएमएस कलेजले आफ्नो अत्याधुनिक र सुविधायुक्त नयाँ क्याम्पस ‘आईआईएमएस २.०’ को उद्घाटन गरेको छ।
काठमाडौंको नक्साल, भगवतीबहालस्थित नवनिर्मित क्याम्पसको आइतबार एक विशेष समारोहबीच शुभारम्भ गरिएको हो।
मलेसियाको प्रतिष्ठित ‘टेलर्स युनिभर्सिटी’ सँगको सहकार्यमा सञ्चालित यो क्याम्पसले नेपालको उच्च शिक्षामा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।
सन् २०१० मा स्थापना भएको आईआईएमएस कलेजले अन्तर्राष्ट्रिय साझेदारी, नवप्रवर्तन र उद्योग–अभिमुख शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै आएको छ।
आईआईएमएसले सहकार्य गरेको टेलर्स युनिभर्सिटी दक्षिणपूर्वी एसियाका अग्रणी निजी विश्वविद्यालयमध्ये एक हो। ‘क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङ’ मा २५३औँ स्थानमा रहेको यो विश्वविद्यालय विश्वका शीर्ष १ प्रतिशत विश्वविद्यालयहरूको सूचीमा पर्दछ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईआईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा कार्यकारी अध्यक्ष सबिन्द्र महर्जनले नयाँ क्याम्पस केवल भौतिक संरचना मात्र नभई नेपालको शैक्षिक भविष्यप्रतिको प्रतिबद्धता भएको बताए।
महर्जनले भने, ‘हामी नेपालमै यस्तो विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्दैछौँ, जहाँ विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्नका लागि विदेश धाउनु नपरोस्। आईआईएमएस २.० ले विद्यार्थीलाई यहीँ बसेर विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउनेछ।’
समारोहमा उपस्थित टेलर्स युनिभर्सिटीका भाइस–च्यान्सलर तथा प्रेसिडेन्ट प्रा. बेरी विनले आईआईएमएससँगको सहकार्य अन्तर्राष्ट्रिय शिक्षामा कोसेढुङ्गा साबित हुने बताए।
‘हामी शिक्षामा भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तर कायम गर्न विश्वास गर्छौँ,’ प्रा. बेरीले भने, ‘आईआईएमएससँगको यो सहकार्यले नेपालका भावी नेतृत्व र विश्व नागरिकहरूलाई सशक्त बनाउन हाम्रो साझा प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।’
उद्घाटनका क्रममा अतिथिहरूले स्मार्ट क्लासरुम, आधुनिक प्रयोगशाला, इनोभेसन हब र विद्यार्थी केन्द्रित शिक्षण क्षेत्रहरूको अवलोकन गरेका थिए।

आईआईएमएस २.० मा परम्परागत कक्षाकोठाभन्दा माथि उठेर ‘अनुभूति–आधारित सिकाइ’ मा जोड दिइएको छ। यसका लागि क्याम्पस परिसरमै ‘टेलर्स क्याफे’ र ‘अरण्य बुटिक होटल’ जस्ता संरचनाहरू तयार पारिएको छ। यहाँ विद्यार्थीले हस्पिटालिटी र व्यवस्थापनको व्यावहारिक अभ्यास गर्न पाउनेछन्।
साथै, रुफटप लर्निङ टेरेस र डिजिटल कोल्याबोरेसन जोनले क्याम्पसलाई दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा उभ्याउने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा टेलर्स युनिभर्सिटी मलेसियाको उच्च नेतृत्वको उपस्थिति रहेको थियो।
कार्यक्रममा भाइस–च्यान्सलर प्रा. बेरी विनसहित प्रो–भाइस च्यान्सलर एन्जी सक पिङ, फ्याकल्टी अफ सोसियल साइन्सेस एण्ड लेजर म्यानेजमेन्टका कार्यकारी डिन प्रा. निथियानाथन एरी राघवन र फ्याकल्टी अफ बिजनेश एण्ड लका कार्यकारी डिन प्रा. चोङ सियोङ चोय लगायतको सहभागिता थियो।
रिबन-कटिङ र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको उद्घाटन कार्यक्रममा शैक्षिक क्षेत्रका अगुवा, उद्योगी, विद्यार्थी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रकाशित: १४ मंसिर २०८२ २१:३८ आइतबार



