अर्थ

जेन-जी आन्दोलनपछि बन्द हायात होटल पुनर्निर्माणपछि सञ्चालनमा आउने

गत भदौमा जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बन्द भएको काठमाडौंको हायात रिजेन्सी होटल पुनर्निर्माण र स्तरोन्नतिपछि मात्र सञ्चालनमा आउने भएको छ।

होटल व्यवस्थापनले आइतबार एक विज्ञप्ति जारी गर्दै पुनर्निर्माणका लागि करिब एक वर्ष लाग्ने अनुमान गरिएको जनाएको हो।

जारी विज्ञप्तिमा गत भदौ २३ र २४ गतेको आन्दोलनमा होटलका अतिथि कक्ष, कार्यालय, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट हल र चैत्यहरूमा ठूलो क्षति पुगेकाले होटल पूर्ण रूपमा बन्द गर्नुपरेको उल्लेख छ।

होटलका कार्यकारी निर्देशक सुरेश लाल श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा हाल क्षतिको मूल्यांकन भइरहेको र त्यसपछि स्तरोन्नतिसहितको पुनर्निर्माण सुरु गरिने बताइएको छ।

‘क्षतिको पूर्ण मूल्यांकन पश्चात् यस होटललाई स्तरउन्नति तथा पुनर्निर्माण गर्दै अझ विस्तारित र उत्कृष्ट सेवासहित यथासिघ्र पुनः सञ्चालनमा ल्याइनेछ,’ विज्ञप्तिमा भनिएको छ।

साढे दुई दशकदेखि सञ्चालनमा रहेको होटलले देशको पर्यटन र अर्थतन्त्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै आक्रमणलाई ‘निन्दनीय’ भनेको छ। होटलले द्वन्द्व, भूकम्प र कोरोना महामारी जस्ता कठिन परिस्थितिमा पनि सेवा दिँदै आएको र सरकारबाट पटक-पटक सम्मानित भएको स्मरण गराएको छ।

साथै, होटल व्यवस्थापनले यस विषम परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आवश्यक सहयोग गर्ने आश्वासन दिएकोमा आभार प्रकट गरेको छ।

प्रकाशित: ९ कार्तिक २०८२ १९:१७ आइतबार