नाम सुन्दा सामान्य लागे पनि नवलपरासी (सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका–४ मा रहेको सिङच्याङ विकट पहाडी बस्ती आजकल कागती खेतीका कारण चर्चामा छ। पहिले बाँझो रहेको जमिन आज कागती खेतीले ढाकिएको छ। पाखो बारीमा लटरम्म फलेका कागतीले गाउँका किसानको जीवनशैली, आम्दानी र सोच नै बदलिदिएको छ।
देवचुलीका दिपक चापागाईं कागती खेतीबाट आम्दानी राम्रो गरिरहेका छन्। भान्जा देविप्रसाद भूसालसँग मिलेर उनले सिङच्याङको पाखाभरि दुई हजार बोट कागतीका बिरुवा लगाएका छन्।
चापागाईंका मामा भाञ्जाले सफल फर्म दर्ता गरेर २०७७ सालको असारमा बिरुवा लगाएका थिए। गत वर्षदेखि कागतीले फल दिन थालेको उनले बताए। अघिल्लो वर्ष उनले ५० लाख रूपैयाँको कागती मात्रै बेचेका थिए। यस वर्ष एक करोड रूपैयाँको कागती मात्रै बिक्री लक्ष्य उनको छ।
‘अहिले एक हजार पाँच सय बोटले उत्पादन दिन थालेको छ। त्यसमध्ये हजार बोट वस्यक छन्। तिनीहरू मध्ये एउटा बोटले ५० केजीभन्दा बढी फल दिन्छ। पाँच सय बोट मध्येबाट प्रतिबोट २० केजी हाराहारी फलेको छ। पाँच सय बोट साना छन्,’ आम्दानी सुनाउँदै चापागाईले भने, ‘यसवर्ष कागतीको फलबाट ५० लाख र नर्सरीबाट ५० लाख रूपैयाँ आम्दानी हुन्छ।’
देवचुलीका मामाभान्जाले व्यावसायिक रूपमा कृषि गर्ने उद्देश्यले बुलिङटारको एक सय ३० रोपनी पाखो बारी खरिद गरेर कागती खेती गरेका हुन्। अहिलेसम्म डेढ करोड लगानी लागेको उनले बताए। अर्को वर्ष लगानी उठ्ने उनको अनुमान छ। ‘कागतीबाट तत्काल आम्दानी हुँदैन । कम्तिमा तीन वर्ष फल दिँदैन। त्यसपछि विस्तारै आम्दानी हुन थाल्छ। फल दिन थालेपछि रनिङ खर्च मात्रै १८ लाखसम्म हुन्छ,’ उनले भने, ‘हामीसँग नर्सरी भएकाले बेर्ना बेचेर सुरुका वर्षमा पनि आम्दानी गर्न सक्यौं। अर्को वर्ष त लगानी उठ्छ।’
१८ वर्ष अगाडि विदेशमा बसेर स्वदेश फर्किएका उनले २०७५ सालमा बौद्धिकाली ६ स्थित नेवारबारीमा सुन्तलाको बगान स्थापना गरेका थिए। त्यसलाई विस्तार गर्दै तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत नर्सरी स्थापना गरेर कागती खेती गरेका हुन्।
तीन वर्ष मलेसियामा पसिना बगाएका उनले स्वदेशमा मोटरसाइकल पसल सञ्चालन गरेका थिए। त्यसबाट राम्रो आम्दानी हुन नसकेपछि व्यावसायिक कृषिमा आएको उनले बताए।
उनलाई भान्जा देविप्रसाद भुषालको दरिलो साथ छ। छैटौं तहका जनस्वास्थ्य अधिकृत रहेको भुषालले अन्य पेसाभन्दा कृषि पेशा राम्रो रहेको समेत सुनाए। ‘यहाँ पाँच वर्षअघि उजाड थियो। खाली जमिनलाई व्यवस्थापन गर्न कागती रोप्यौं,’ उनले भने, ‘नेपालमा अन्य पेशाभन्दा कृषि पेशाको भविष्य उज्वल छ।’ उनले स्थानीय स्तरमा रोजगारी दिने र दिगो उत्पादन गर्ने सोचका साथ कागती खेतीमा लगानी गरिएको बताए।
पूर्व–पश्चिम राजमार्गको दलदले बजारबाट सिङच्याङ पुग्न पक्की र ग्राभेल सडक हुँदै करिब साढे एक घण्टा गाडीमा यात्रा गर्नुपर्छ। साँघुरा मोड, उकालो बाटो, कहिलेकाहीं हिलो तर अहिले यही विकट यात्रा पछाडि गाउँको समृद्धिको कथा लुकेको छ। मामा भान्जाले कागती खेती गर्न सुरु गरेपछि गाउँका अन्य किसानले पनि लगाउन थालेका छन्। उनीहरूको फार्ममा काम गर्न आएका रेखबहादुर रानामगरले पनि दुई सय बोट लगाएका छन्। अहिलेको अवस्था हेर्दा सन्तोषजनक रहेको उनी बताउँछन्।
‘तीन वर्ष विदेश बसेँ। त्यहाँ धेरै दुःख छ। यहाँ काम पनि सिक्दै छु। घरको काम पनि गर्न पाइने विदेशभन्दा राम्रो मानेको छु,’ उनले भने, ‘पछि आफ्नै बारीमा कागती थप गर्दै जाने योजना छ।’ उनका अनुसार सिङच्याङमा हातेमालो कृषक समूह स्थापना गरेर ११ जनाले व्यवसायिक रूपमा कागती खेती लगाएका छन्।
उनीहरूले कृषि खेती तथा खानेपानीका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र कृषि ज्ञान केन्द्रको सहयोगमा चार किलोमिटर टाढाबाट पानी लगेका छन्। त्यसले खेती गर्नसमेत सहज भएको छ।
नवलपुर कागती खेतीका लागि प्रख्यात जिल्ला हो। यहाँ सुन्तला जातका फलफूल जोनसमेत स्थापना भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले पनि कागतीका नयाँ बगैंचा स्थापना गर्ने र क्षेत्र विस्तारको काम गरिरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपरासी (सुस्ता पूर्व) का कार्यालय प्रमुख देवराज अधिकारी बताउँछन्।
उनका अनुसार जिल्लामा एक सय २० हेक्टर क्षेत्रफलमा कागती खेती भएको छ। त्यसमध्ये ३० हेक्टर क्षेत्रफलमा लगाइएको बिरुवाले फल दिन थालेको छ। यस वर्ष चार सय ५० मेट्रिक टन उत्पादन हुने अनुमान अधिकारीको छ।
‘हामीले गुणस्तरीय विरुवाको नसरी स्थापना, क्षेत्र विस्तार, बगैंचा व्यवस्थापन, सिँचाइ पूर्वाधार तथा रोग किराको व्यस्थापनका लागि प्राविधिक सहयोग गरिरहेका छौं,’ अधिकारीले भने, ‘नवलपुरमा कागती खेतीतर्फ किसान आकर्षित छन्।’ फलफूल जोनमा मात्रै तीन सय ५० मेट्रिकटन कागती उत्पादन हुने अनुमान उनको छ।
समुद्री सतहबाट एक हजार पाँच सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना छ। जिल्लामा ५० हजार बिरुवा लगाइएको कृषि ज्ञान केन्द्र नवलपरासी (सुस्ता पूर्व)का प्रमुख कुलप्रसाद तिवारी बताउँछन्। उनका अनुसार यहाँका एक सय ५० किसानले व्यावसायिक रूपमा कागती खेती गरेका छन्। बजार व्यवस्थापन, बिरुवा वितरण, रोग लागेमा रोगको पहिचान गरी उपचार, आवश्यक परामर्श लगायत काममा केन्द्र सहजीकरण गर्न तयार रहेको उनले बताए।
बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेले पछिल्लो समय आफ्नो वडामा व्यावसायिक रूपमा कागती र सुन्तला खेती गर्ने किसान बढ्दै गएको बताए। यद्यपि बजेट अभावका कारण वडाले कृषि क्षेत्रमा लगानी गर्न नसकेको उनले बताए।
'वडामा बजेट धेरै पनि हुँदैन। कृषकलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता मेरो हो। मैले बजेट राख्न सकिनँ,' उनले भने, 'पालिकाबाट कृषिको सरलाई प्राथमिकता दिनु भनेको छु।'
प्रकाशित: १६ श्रावण २०८२ ११:०८ शुक्रबार