अर्थ

राजधानीमा माघ पहिलो साता ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने

नेपालको स्वच्छ ऊर्जा विकास, प्रविधि र लगानीलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आगामी २०८३ माघ ३ देखि ५ गतेसम्म राजधानी काठमाडौंमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ एक्स्पोको पाँचौं संस्करण हुन लागेको हो।

यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा यसका संस्करणहरू सम्पन्न भइसकेका छन्।

नेपाल सरकारले सन् २०३५ सम्ममा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी राष्ट्रिय लक्ष्य अघि सारेको पृष्ठभूमिमा यो एक्स्पो आयोजना हुन लागेको हो।

यो लक्ष्य हासिल गर्न उत्पादन विस्तारका साथै प्रसारण पूर्वाधार, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारलाई सँगसँगै लैजानुपर्ने आवश्यकता छ।

परम्परागत जलविद्युत्‌को दायरालाई फराकिलो बनाउँदै यसपटकको एक्स्पोलाई सौर्य, वायु, जैविक ऊर्जा, ऊर्जा भण्डारण, ग्रीन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसहितको एकीकृत हरित ऊर्जा बजारका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

विशेषगरी पछिल्ला वर्षहरूमा इलाम, संखुवासभा, लमजुङ, भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएका बाढीपहिरोका कारण ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

यसलाई मध्यनजर गर्दै एक्स्पोले विपद्-उत्थानशील पूर्वाधार निर्माण, जोखिम न्यूनीकरण र आधुनिक प्रविधि भित्र्याउने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसलाई प्राथमिकतामा राखेको छ।

इप्पानका अध्यक्ष मोहन कुमार डाँगीका अनुसार नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा हाल करिब ४ हजार ३ सय मेगावाट विद्युत् जडित क्षमता पुगिसकेको छ। जसमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी छ।

अहिले करिब ६ हजार ४ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी पीपीएको पर्खाइमा छन्।

यो सम्भावनालाई कार्यान्वयनमा बदल्न नीतिनिर्माता, प्रविधि प्रदायक र लगानीकर्ताबीच साझा समझदारी बनाउन एक्स्पो फलदायी हुने उनको विश्वास छ।

इप्पानले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर हरेक वर्षको माघ ३, ४ र ५ गतेलाई नियमित वार्षिक ऊर्जा इभेन्टका रूपमा स्थापित गर्ने योजनासमेत अघि सारेको छ।

तीन दिनसम्म चल्ने यस वृहत् प्रदर्शनीमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, हाइड्रो-कन शो, ईभी र्‍याली तथा गाला नेटवर्किङ डिनरजस्ता कार्यक्रमहरू समावेश छन्।

प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, प्रसारण प्रविधिका नवीनतम उपकरणहरू राखिनेछन्।

एक्स्पोमा नेपालसहित भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायतका मुलुकका कम्पनी, प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

१ सयभन्दा बढी व्यावसायिक स्टलहरू रहने यस एक्स्पोमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ। आयोजकका अनुसार एक्स्पोका लागि सहभागिता तथा व्यावसायिक स्टल बुकिङ खुला भइसकेको छ।

प्रकाशित: ८ आश्विन २०८३ १७:४५ बिहीबार