जेनजी आन्दोलनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि ल्हासाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको जहाज पोखरा डाइभर्ट भएको छ। काठमाडौंमा अवतरण गर्न नपाएपछि जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानस्थलका प्रबन्धक सुर्य खत्रीका अनुसार दिउँसो साढे २ बजे हिमालयको उक्त जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा विदेशी र स्वदेशी गरि ६५ जना यात्रु रहेको उनले बताए। ‘काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएपछि जहाज पोखरा डाइभर्ट भएको हो। यात्रुहरु पोखरामै रोकिएका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले राती एकबजेसम्मका लागि नोटाम जारी गरेकोले हिमालय एयरलाइन्सका जहाज पोखरामै रोकिनेछन,’ उनले भने ।
काठमाडौं विमानस्थल बन्द भएपछि यात्रुलाई पोखरामै ओरालेर राखिएको छ। यात्रुहरु विमानस्थलमै रहेका छन्। उक्त जहाज मंगलबार बिहान पोखराबाट ल्हासा उडेर काठमाडौं फर्किदै थियो। तर, काठमाडौं फर्किँदै गर्दा जहाज विमानस्थल बन्दको मारमा परेको थियो।
आन्तरिक उडान कटौती
जेनजी आन्दोलनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि पोखराबाट काठमाडौंका लागि हुने आन्तरिक उडान पनि कटौती भएका छन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मंगलबार तय गरिएका आधाभन्दा बढी उडान कटौती भएका छन। विमानस्थलका प्रबन्धक खत्रीका अनुसार बुद्धका ७, यतीका ३ र श्री एयरलाइन्सका एक गरि ११ वटा मात्र उडान भएका छन्। मंगलबार बुद्धले १५, यतीले ७ र श्रीएयरलाइन्सले दुइ गरि २४ वटा उडान राखेका थिए। तर, जम्मा ११ वटा मात्र उडान भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
प्रकाशित: २४ भाद्र २०८२ १५:४० मंगलबार