कोसी प्रदेशमा जलविद्युत् उत्पादनको सम्भावना उच्च भए पनि उत्पादन भने न्यून मात्र छ। यो प्रदेशमा ३४ हजार मेगावाट विद्युत् उत्पादन सम्भावना भए पनि साढे ५ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको छ तर केहि वर्षयता कोसीमा विद्युत् आयोजना निर्माण क्रमले तीव्रता पाएको छ। जसमा ठुला आयोजनाहरू पनि छन्।
भारत सरकारको लगानीमा कोसीमा निर्माण सुरु भएको अरुण तेस्रो जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। नौ सय मेगावाट क्षमताको यो आयोजना निर्माण सम्पन्न हुँदा जलविद्युत् उत्पादनमा कोसीले पनि अग्रता कामय गर्ने निश्चित छ।
कोसी प्रदेश सरकारको दोस्रो आवधिक योजनामा उल्लेख भएअनुसार यो प्रदेशमा ७६२ मेगावाटको तमोर, आठ सय मेगावाटको दुधकोसी, एक हजार ६३ मेगावाटको अपर अरुण, ४५० मेगावाटको किमाथांका अरुण, ३७२ मेगावाटको अरुण–४ र ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण अघि बढेको छ।
यी आयोजना सम्पन्न हुँदा पाँच हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने कोसी प्रदेश योजनाले जनाएको छ। हाल न्यून मात्रामा विद्युत् उत्पादन भए पनि कोसी प्रदेश निकट भविष्यमै जलविद्युत् उत्पादन हबका रुपमा स्थापित हुने देखिन्छ।
कोसीमा रणनीतिक महत्त्वका ठुला जलविद्युत् आयोजना निर्माण सम्पन्न नभएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकले देखाएको छ। कोसीका ताप्लेजुङ, इलाम, संखुवासभा, पाँचथरलगायत जिल्लामा निर्माण सम्पन्न भएका मुख्य जलविद्युत् आयोजनामा माइखोला, माथिल्लो माई, कावेली–ए, हेवाखोला–ए, हेवा खोला, मावा खोला, पिलुवा खोला, सभा खोला, इखुवा खोलालगायत छन्।
कोसीका जलविद्युत् आयोजनाहरू पहाडी क्षेत्रमा भएका कारण बाढीपहिरोको उच्च जोखिममा छन्। बाढीपहिरोका कारण जलविद्युत् आयोजनाहरूको उत्पादन प्रभावित हुनुका साथै वार्षिकरुपमा ठुलो क्षतिसमेत हुने गरेको छ। कोसीमा बिजुली उत्पादनसँगै प्रसारण लाइन निर्माण पनि भइरहेको छ।
कोसी करिडोर २२० केभी, इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइन पहिलो सर्किटले एक हजार मेगावाट र दोस्रो सर्किट पूरा भएपछि दुई हजार मेगावाटसम्म विद्युत् वहन गर्न सक्ने जनाइएको छ। त्यस्तै अरुण–३, अपर अरुण, लोअर अरुण आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने उद्देश्यले निर्माणाधीन अरुण करिडोर २२० केभी प्रसारण लाइन, तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन, किमाथांका–अरुण हब ४ सय केभी प्रसारण लाइन, कोसी र कावेली करिडोर जोड्ने अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारण लाइनलगायत छन्। यीमध्ये केही निर्माणको अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रुमख कमल आचार्यले जानकारी दिए।
विद्युत् वितरणमा समस्या
कोसी प्रदेशमा विद्युत् वितरणमा भने समस्या देखिएको छ। विद्युत् वितरणको कमजोर संरचनाकै कारण समस्या भएको हो। विशेषगरी गर्मीयाममा विद्युत ट्रिपिङले उपभोक्ता हैरान हुन्छन्। विद्युतका पुराना संरचनामा सुधार गर्न सके विद्युत प्रवाहमा समस्या नआउने आचार्य बताउँछन्।
उनले भने, ‘विद्युत् उत्पादन कम भएर होइन, स्थानीय नेटवर्क समयानुकूल नहुँदा वितरणमा समस्या आएको हो।’ विद्युत् वितरणमा सुधार गर्न सबैजसो क्षेत्रमा कण्डक्टर परिवर्तन गर्नुपर्ने हुन्छ। जसका लागि धेरै बजेट चाहिने उनले बताए।
तत्कालै काम नगरे समस्या बढ्दै जाने देखेर १२ वटा लाइनको कण्डक्टर अपग्रेड गर्न केन्द्रीय कार्यालयमा पठाइसकेको आचार्यले बताए। विशेषगरी पिक आवरमा धेरै समस्या देखिएका क्षेत्रमा अहिलेको संरचनाले नधान्ने उनले स्पष्ट पारे। यस्तै औद्योगिक क्षेत्रमा पठाइएका लाइनमा पनि समस्या छ।
मोरङको रंगेली क्षेत्रमा केरौनबाट विद्युत् पठाउनुपर्ने भए पनि हाल भोक्राहाबाट पठाइएका कारण लो भोल्टेज र ट्रिपिङको समस्या छ। केरौनमा निर्माणाधीन काम सकिएपछि मात्रै रंगेली क्षेत्रमा देखिएको समस्या समाधान हुने उनले बताए।
प्रकाशित: २४ असार २०८३ ११:३१ बुधबार



