बाढीपहिरोका कारण ठूलो परिमाणमा आन्तरिक विद्युत उत्पादन ठप्प भए पनि आगामी हिउँदमा लोडसेडिङ हुन नदिन नेपाल विद्युत प्राधिकरणले भारतबाट १ हजार १ सय ५४ मेगावाट बिजुली आयात गर्ने तयारी गरेको छ।
माग र आपूर्तिको सन्तुलन कायम राख्दै उपभोक्तालाई निर्वाध विद्युत उपलब्ध गराउन भारतबाट आयात बढाउने रणनीति बनाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले जानकारी दिए।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट ६०० मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न प्रसारण विन्दुबाट ३५० मेगावाट तथा आरटीसीको माध्यमबाट थप १५० मेगावाट बिजुली आयात गर्ने प्राधिकरणको योजना छ।
अघिल्लो वर्षको सुख्खायाममा समेत उच्चतम मागको समयमा भारतबाट ८०० मेगावाटसम्म बिजुली आयात गरिएको थियो।
आगामी सुख्खायाममा नदीहरूमा पानीको बहाव घट्दा स्वदेशी आन्तरिक उत्पादनबाट १ हजार २ सय १८ मेगावाट मात्र विद्युत उपलब्ध हुने प्राधिकरणको प्रक्षेपण छ।
आन्तरिक उत्पादन र भारतबाट हुने आयात जोड्दा कुल विद्युत उपलब्धता २ हजार ३ सय ७२ मेगावाट पुग्नेछ। अघिल्लो वर्ष सुख्खायामको उच्चतम राष्ट्रिय माग २ हजार २ सय ९२ मेगावाट रहेको थियो। यो वर्ष पनि माग उल्लेख्य रूपमा नबढेकाले अघिल्लो वर्षकै हाराहारीमा रहने र त्यसलाई उपलब्ध बिजुलीले सहजै धान्ने श्रेष्ठको भनाइ छ।
हालैको बाढीपहिरोले जलविद्युत उत्पादनमा ठूलो धक्का पुर्याएको छ। पछिल्लो असोजको बाढीपहिरोका कारण ३१७ मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ भने गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीको बाढीले थप ४३० मेगावाट विद्युत उत्पादन अवरुद्ध पारेको थियो।
आन्तरिक प्रणालीमा झन्डै साढे सात सय मेगावाटको अभाव भए पनि आयातको भरपर्दो व्यवस्थापनमार्फत उपभोक्तालाई नियमित बिजुली दिने दाबी प्राधिकरणको छ।
प्रकाशित: १२ आश्विन २०८३ १९:४४ सोमबार