भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ऐतिहासिक ताथली गढी र हलालगाउँ सिढीले पछिल्लो समय आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी आन्तरिक पर्यटकहरुको गन्तव्यका रूपमा परिचित बन्दै गएको हो । स्थानीय इतिहास, प्राकृतिक सुन्दरता र छेउछाउको ग्रामीण जीवनशैली नजिकबाट अवलोकन गर्न चाहने पर्यटकहरू यो क्षेत्रतर्फ आकर्षित हुन थालेका हुन् ।
ताथली गढी क्षेत्र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिएको क्षेत्र हो । स्थानीयका अनुसार गढी क्षेत्र एक समय रणनीतिक निगरानी तथा सुरक्षात्मक दृष्टिले उपयोग हुने गर्दथ्यो । अहिले पनि ताथली गढी क्षेत्रमा ऐतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाका अवशेष पाइएका छन् ।
ताथलीको आइतबारे वन र ठूलोवाखा वनमा रहेको सो गढीबाट काठमाडौं उपत्यकाका विभिन्न भाग र बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिन्छ । सुन्दर प्राकृतिक हरियाली, दृश्यावलोकन र ग्रामीण सौन्दर्यसँग मिसिएको विश्रामस्थलका रूपमा रहेको यो क्षेत्रमा रहेको सौन्दर्यमा रमाउन दैनिक सयौं संख्यामा आन्तरिक पर्यटक आउने गरेको चाँगुनारायण नगरपालिका-९ का वडा सदस्य विद्यापति थापाले बताए ।
उनले शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको समेत बताए । उपत्यका हेर्न मिल्ने डाँडामा रहेको हलालगाउँमा ताथली पुल–सुइटी खोला सडक, ताथली नाला सडक– पुजारी पाटी सडक, सुडालको कलमसी हुँदै खावा, सुडाल ठूली ब्रम्हायणी सडक हुँदै खावा– हलालगाउँ पुग्न सकिन्छ ।
यो स्थानमा निर्मित यस्तै हलालगाउँ–ताथली गढी सिँढीले पनि पर्यटकलाई आकर्षण गरेको स्थानीय बताउँछन् । उच्च स्थानबाट देखिने पहाडी भू–दृश्य, चाँगुनारायण–ताथली क्षेत्रको समग्र दृश्य र पहाड–तराई मिश्रित भूभागले यहाँ आउने जोकोहीलाई मोहित बनाउँछ । परिवारसहितको छोटो घुमघाम, पदयात्रा, फोटोग्राफी र स्थानीय संस्कृति अनुभव गर्न उपयुक्त स्थान भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढ्दै गएको चाँगुनारायण नगरपालिका-९ का वडा अध्यक्ष गणेश त्यातले बताए ।
उनले यो स्थानको सल्लाघारी वन, विभिन्न प्रजातिका चराचुरुङ्गीको ध्वनि, मनोरम वातावरणले एकान्तप्रेमी पर्यटकहरूलाई तानिरहेको उल्लेख गर्दै करिब ३०० खुड्किलाको सिँढीले थप सौन्दर्य बढाएको बताए । त्यसले ताथली गढी पुग्न समेत सहज भएको उनको भनाइ छ ।
पर्यटक संख्या बढेसँगै वडा कार्यालय, वन उपभोक्ता समिति र समुदायले, सरसफाइ, विश्रामस्थल जस्ता आधारभूत पूर्वाधार सुधारका पहलसमेत थालेका छन् । नियमित प्रचारप्रसार, सुरक्षित पदयात्रा मार्ग विकास र स्थानीय उत्पादन प्रवद्र्धन गर्न सके ताथली गढी र हलालगाउँ सिँढी निकट भविष्यमा अझ आकर्षक गन्तव्य बन्नसक्ने स्थानीयहरूको अपेक्षा छ ।
सोही उद्देश्य बमोजिम वडाले नियमित रूपमा उक्त स्थानमा सरसफाइ समेत गरिरहेको छ । सो स्थानमा निर्माण भएको अपुरो भ्यू टावरको निर्माण पूर्णतासँगै थप पर्यटक बढ्ने स्थानीयको भनाइ छ । वडा कार्यालयले सो स्थानको दीगो विकासका लागि गुरूयोजना समेत तयार गरेको जनाएको छ ।
प्रकाशित: १५ मंसिर २०८२ १८:१८ सोमबार