२०७९ साउनमा अन्नपूर्ण क्षेत्रमा ३ हजार २ सय ७१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो संख्या २०८० साउनमा ५ हजार ४ सय १ पुगेको थियो । २०८१ साउनमा भने अन्नपूर्ण क्षेत्रमा पुग्ने विदेशी पाहुनाको संख्या ५ हजार ७ सय १० थियो।
तर, पाहुना आगमनको त्यो आकार वर्ष झनै बढेर यो साउनमा अन्नपूर्ण क्षेत्र घुम्न जाने विदेशी पाहुनाको संख्या ११ हजार ८ सय २४ पुगेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को तथ्यांकले देखाए झैं अफसिजनको यो बेलामा पनि अन्नपूर्ण क्षेत्रमा विदेशी पाहुना उक्लिन छाडेका छैनन्। अन्नपूर्ण क्षेत्रको प्रख्यात गन्तव्य अन्नपूर्ण आधारशिविर (एबिसी) मा त विदेशी पाहुना नउक्लेको दिन खालि छैन।
छोमरोङ पर्यटन व्यावस्थापन समितिका अध्यक्ष समेत रहेका अन्नपूर्ण आधारशिविर (एबिसी)का होटल व्यावसायी जगनराज गुरुङ भन्छन्, ‘त्यस्ता केही अप्ठेरा दिन थिए, त्यो बेला एकाध दिनमा आगमन शुन्यमा झरेको होला, नत्र अन्नपूर्ण आधारशिविरमा पाहुना नउक्लेको दिन खालि छैन।’ उनका अनुसार यो साउनमा पनि दिनमा कम्तिमा पनि ५० जना विदेशी पर्यटक आधारशिविर उक्लेका थिए।
उनका अनुसार दशक लामो द्वन्द्वकाल, भूकम्प, कोभिड संक्रमणका बेला कुनैदिन पाहुना नपुगेको तथ्यांक रहन सक्छ। नत्र, कुनै कारणबस बाटो रोकिएको अवस्थामा बाहेक पाहुना रोकिएका छैनन। बरु, त्यो संख्या हरेक वर्ष बढिरहेको छ।’ उनका अनुसार अहिले पनि दिनहुँ विदेशी पाहुना आधारशिविर चढिरहेका छन। आधारशिविर क्षेत्रमा भदौपछि पर्यटकीय सिजन सुरु हुने भएकोले आगामि दिनमा त्यो आगमन संख्या अझ बढि हुने उनले बताए।
‘कोरोना संक्रमणपछि पर्यटन क्षेत्र करिब पहिलेकै अवस्थामा फर्किसकेको छ। त्यसबाहेक नेपाल र अन्नपूर्ण क्षेत्र सुरक्षित रहेको सन्देश पनि प्रवाह भएको छ,’ उनले भने, ‘पदयात्रामा पहिलेजस्तो खानपिन र बसोबासको समस्या छैन। संचारको सुविधासँगै पदमार्ग सुरक्षित बनेका छन। त्यसले गर्दा पनि पाहुनालाई यो बेला आकर्षण गरेको हो। ढुक्कले पदयात्रा गर्न सकिन्छ भन्नेमा पर्यटक ढुक्क बनेका छन। वर्षायाममा पनि पदयात्रा सुरक्षित छन भन्ने सन्देशले पाहुनालाई तानेको हो।’
अन्नपूर्ण आधारशिविरका लागि असार र साउन अफसिजन हो। तर, अफसिजनको यो समयमा पनि पर्यटकीय गन्तव्य आधारशिविरले पाहुना आकर्षण गर्न सकेको उनले बताए। ‘म आफैले आधारशिविरमा समय बिताएको तीनदशक लाघिसक्यो। तरपनि आधारशिविरमा बसेर कहिल्यै थाक्दिन। यति सुन्दर दृश्य देख्न पाइन्छ की जो कोही पाहुना लोभिन्छन,’ उनले भने, ‘आकर्षक र लोभलाग्दो दृष्यले पनि पाहुना तानिरहेको छ। अब त आन्तरिक र विदेशी पाहुनाको सिजन सुरु भयो। आन्तरिक र विदेशी सबै खाले पाहुनाको भीड बढ्ने पक्का छ।’ चाँडबाँडका कारण पनि पाहुना आगमन उकालो लाग्ने उनले बताए।
अन्नपूर्ण आधारशिविरमा ६ वटा होटल छन, जहाँ सिजनको बेला ५ सयको हाराहारीमा पाहुनाको बसोबास व्यवस्थापन हुन्छ। पाहुना र उनीहरुका सहयोगीको भीडले सिजनको बेला आधारशिविरमा पाहुना व्यवस्थापनमा नै व्यावसायीलाई सकस पनि पर्ने गरेको छ। त्यस्ते माछापुच्छ्रे आधारशिविरका पाँचवटा होटलमा पनि पाहुनाको भीडभाड रहन्छ।
‘एक्यापले भने झैं र हामीले अनूभूत गरे अनुसार अन्नपूर्ण क्षेत्रमा बाह्रैमास पाहुनाको आउजाउ चलिरहन्छ। त्यसको प्रमाण भनेकै आधारशिविर उक्लेका पाहुनाको संख्या हो, जहाँ कुनैदिन पाहुना भएनन् भन्नुपरेन,’ उनले भने, ‘हरेक वर्ष आगमन पनि बढिरहेको छ ।’
माछापुच्छ्रे आधारशिविर (एमबिसी)का पर्यटन व्यावसायी दिलीप गुरुङ पनि पछिल्लो समय उक्त क्षेत्र सुनसान बन्नै नपरेको बताउँछन। ‘एबिसी क्षेत्र जहिल्यै गुलजार हुने गरेको छ। केहीवर्ष अघिसम्म अफसिजनको यो बेलामा आलोपालो प्रणालिमा होटल चलाउने गरेका थियौं। तर, अहिले त सबै होटल खुला छन्। पाहुनालाई आतिथ्यता प्रदान गर्नमा कुनै कन्जुँस्याई गर्नुपरेको छैन,’ उनले भने, ‘सबै होटल खुला भएपछि बसोबासमा पनि सहज छ। पाहुनाले रोजाईको होटलमा बस्न पनि पाएका छन। सिजनको बेला भीडभाड हुँदा कहिलेकाँही रोजेको होटल र कोठा नपाउन पनि सकिन्छ।’
व्यावसायीका अनुसार केहीवर्ष अघिसम्म अफसिजनको यो समयमा पाहुना कम हुने हुँदा एबिसी र एमबिसीका होटलले आलापालो प्रणालिमा चलाउने गर्थे। एबिसी र एमबिसीका २/२ वटा होटल आलोपालो गरेर चलाउने गरिएको थियो। तर, अहिले सबै होटल खुला हुन्छन। ‘बरु कर्मचारीलाई पालो गरेर बिदा दिन्छौ। तर, होटल खुला गर्छाै। पाहुनाको आतिथ्यतामा कुनै कमजोरी रहन्न,’ उनले भने, ‘कुनै बेला २ वटा मात्र होटल खुल्ने ठाउँमा अहिले सबै होटल खुला हुनुको कारण पाहुनाकै संख्या बढेर हो। व्यासायीले पनि केही आम्दानी गर्न सकेकोले यो बेला व्यवसाय संचालन गर्न उनीहरुमा जाँगर पनि पलाएको छ।’
एक्याप प्रमुख रविन कडरिया अफसिजनमा पनि अन्नपूर्ण क्षेत्र पाहुना पाउनुमा सेवा सुविधाले सहज भएको हो। उनका अनुसार अहिले अन्नपूर्ण क्षेत्रको अधिकांश ठाउँमा संचार सम्पर्क सहज छ। त्यसबाहेक वर्षायाममा पनि गन्तव्यका सबै होटलमा सेवा पाइन्छ। पाहुनालाई खान र बस्नको असुविधा छैन। पदमार्ग पनि सुरक्षित बनेका छन। केहीवर्ष अघिसम्म खोला बढेर वारपार गर्न नसक्ने अवस्था आउनेमा अहिले पुल पुलेसाले यात्रालाई सुरक्षित बनाएको छ।
‘कोरोना संक्रमणपछि पर्यटन क्षेत्र करिब पहिलेकै अवस्थामा फर्किसकेको छ। त्यसबाहेक नेपाल र अन्नपूर्ण क्षेत्र सुरक्षित रहेको सन्देश पनि प्रवाह भएको छ,’ उनले भने, ‘पदयात्रामा पहिलेजस्तो खानपिन र बसोबासको समस्या छैन। संचारको सुविधासँगै पदमार्ग सुरक्षित बनेका छन। त्यसले गर्दा पनि पाहुनालाई यो बेला आकर्षण गरेको हो। ढुक्कले पदयात्रा गर्न सकिन्छ भन्नेमा पर्यटक ढुक्क बनेका छन। वर्षायाममा पनि पदयात्रा सुरक्षित छन भन्ने सन्देशले पाहुनालाई तानेको हो।’
प्रकाशित: २ भाद्र २०८२ १८:१६ सोमबार