अर्थ

लुम्बिनीमा बढ्दै यातायात व्यवस्था सेवा

लुम्बिनी प्रदेशमा यातायात व्यवस्था सेवा विस्तारको कामलाई तिब्र पारिएको छ । यातायात सम्बन्धी सेवा नागरिकको पहुँचमा रहनु पर्ने भन्दै सेवा विस्तारमा रहेको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यो सेवालाई थप नागरिक मुखी बनाउने लक्ष्य लिएको छ । यसैक्रममा देउखुरीस्थित भालुवाङमा रहेको यातायात सेवा कार्यालयमा सेवा विस्तार गरिएको छ ।  

भालुवाङमा रहेको यातायात सेवा कार्यालयमा सेवा थप हुनु पर्ने नागरिक आवाज बढेपछि मन्त्रालयले मन्त्री स्तरिय निर्णय गर्दै सेवा थप गरेको हो । मन्त्रालयका अनुसार सार्वजनिक सवारी साधनको नयाँ जाँचपास र स्थायी बाटो इजाजत पत्र जारी गर्ने सेवा भालुवाङ स्थित यातायात सेवा कार्यालयमा थप गरिएको छ । पहिला यो सेवा लिन सेवा ग्राहीहरुलाई तुलसीपुर पुग्नु पर्ने बाध्यता थियो । अब भने नयाँ सवारी साधन खरिद गरेका गाडीधनीहरुले नयाँ सवारी साधन दर्ता र रुटपरमिट सेवा भालुवाङ स्थित सेवा कार्यालयमै उपलब्ध हुने छ ।  

यसैगरि जाँचपास र स्थायी बाटो इजाजतपत्रको सरुवा दर्ता सेवा थप गरिएको छ । अभिलेख सहितको कागजात ल्याएको खण्डमा सम्बन्धीत दर्ता रहेको कार्यालयसंग समन्वय गरि प्रतिलिपी लिँदा चाहिने सम्पूर्ण कागजात राखि सार्वजनिक सवारी साधनको नयाँ जाँचपास र स्थायी बाटो इजाजत पत्रको प्रतिलिपी जारी गर्ने सेवा थप गरिएको छ । यसैगरि मन्त्रालयले यातायात सम्बन्धी सेवालाई आम नागरिकको सहज पहुँचमा कायम राख्ने लक्ष्य सहित  यातायात सम्बन्धी सेवालाई विस्तार गर्दै लैजाने लक्ष्य लिएको जनाएको छ ।

‘संघीयताको मूल मर्म अनुसार यातायात सम्बन्धी सेवालाई पनि थप विस्तार गरेर यसलाई आम नागरिकको पहुँचमा पुर्याउने लक्ष्य मन्त्रालयको छ,’ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘यसै अनुरुप हामीले सेवा विस्तार तथा सेवा थप गर्ने कार्यलाई तिरन्तरता दिइरहेका छौँ, आगामी दिनमा पनि यो कामलाई तिब्र पार्दै लगिने छ ।’

प्रकाशित: ७ श्रावण २०८२ २०:५८ बुधबार

#LumbiniSarkar #YatayatKaryalaya #NagarikNews #NepaliNews