अर्थ

‘कोडफेस्ट २०२५’ को ग्रान्ड फिनाले काठमाडौंमा

फाइल तस्बिर।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील संस्था ‘कोड फर चेन्ज’ को आयोजनामा सञ्चालित ‘कोडफेस्ट २०२५’ को अन्तिम चरण अर्थात् ग्रान्ड फिनाले काठमाडौंमा आयोजना हुने भएको छ।

मुलुकका सातै प्रदेशमा सञ्चालित प्रादेशिक प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० टोलीबीच उपाधिका लागि अन्तिम भिडन्त हुन लागेको हो।

आयोजकका अनुसार कार्यक्रम यही डिसेम्बर १९, २० र २१ गते सम्म तीन दिन चल्नेछ। फिनालेका कार्यक्रमहरू दुई फरक स्थानमा सञ्चालन गरिने तालिका तय भएको छ।

प्रतिस्पर्धाको सुरुवाती दुई दिन अर्थात् डिसेम्बर १९ र २० का गतिविधिहरू काठमाडौंस्थित आईएमएस कलेजमा सञ्चालन हुनेछन् भने अन्तिम दिन डिसेम्बर २१ मा विजेता घोषणा तथा पुरस्कार वितरण समारोह राष्ट्रिय नाचघर, जमलमा सम्पन्न गरिनेछ।

प्लस टु देखि स्नातक तहसम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगिताको प्रादेशिक चरण पार गर्दै १० टोली राष्ट्रिय मञ्चमा उत्रिएका हुन्।

फाइनलमा पुग्ने टोलीहरूमा बागमती प्रदेशबाट काठमाडौं मोडल कलेजको ‘कानून एआई’, ख्वपाः इन्जिनियरिङ कलेजको ‘प्रोफिट डट ईएक्सई’, समृद्धि कलेजको ‘टिम क्ल्यारिटी’ र चितवनस्थित स्काइराइडर कलेजको ‘टिम ट्रिक्स’ रहेका छन्।

त्यस्तै, गण्डकी प्रदेशबाट पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङको ‘टिम नासेन्ट’, सुदूरपश्चिमबाट कैलाली मल्टिपल क्याम्पसको ‘टिम केएमसी’, लुम्बिनीबाट रुपन्देहीको लुम्बिनी सिटी कलेजको ‘टिम एलसीसी’ र दाङको अम्बिकेश्वरी क्याम्पसको ‘एएमसी ग्यालेक्सन’ छनोट भएका छन्।

यसैगरी मधेश प्रदेशबाट वीरगञ्जस्थित ठाकुरराम मल्टिपल क्याम्पसको ‘टिम टेक टाइटन्स’ र कोशी प्रदेशबाट इटहरी नमुना कलेजको ‘टिम जिरोथ’ ले पनि अन्तिम १० मा आफ्नो स्थान सुरक्षित गरेका छन्।

प्रादेशिक चरणमा नै सहभागीहरूले समसामयिक र विश्वव्यापी महत्त्वका विषयमा आफ्ना नवप्रवर्तनात्मक विचार प्रस्तुत गरेका थिए।

विशेषगरी पारदर्शी शासन, खुला नवप्रवर्तन, दिगो विकास लक्ष्य, स्मार्ट कृषि तथा एआईमा आधारित ई–गभर्नेन्स जस्ता विविध र प्राविधिक रूपमा जटिल विषयवस्तुमा केन्द्रित रहेर प्रतिस्पर्धाहरू भएका थिए।

ग्रान्ड फिनालेमा पनि यिनै विषयवस्तुमा आधारित रहेर टोलीहरूले आफ्ना परियोजना र समाधानका उपायहरू प्रस्तुत गर्नेछन्।

प्रकाशित: २ पुस २०८२ २२:२५ बुधबार