अर्थ

दसैं लक्षित नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने सरकारको तयारी

सरकारले दसैं लक्षित नागढुंगा-सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि निर्माणाधीन नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग छलफल गर्ने भएका हुन्।

शनिबार सिंहदरबारमा यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगायतका सरोकारवाला निकायसँग बसेको बैठकमा मन्त्री घिसिङले चाडपर्वमा हुने अत्यधिक सवारी चाप र यात्रुको सहजतालाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएका हुन्।

दसैंपछि काठमाडौं फर्कने सवारीका लागि पनि सुरुङमार्ग खुला गर्ने विषयमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय लिइने उनले बताए। बैठकले चाडपर्वको समयमा हुन सक्ने दुर्घटना न्यूनीकरण र सहज यात्राका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ।

यस्ता छन् बैठकबाट भएका निर्णयहरूः

-नागढुंगा-सिस्नेरी सुरुङ्गमार्ग सम्बन्धमाः काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दसैँपछि माथि उल्लिखित सवारी साधन प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने।

-सुरक्षा व्यवस्थापन सम्बन्धमाः काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने।

-मालबाहक ठुला सवारी साधनहरु साञ्‍चालन सम्बन्धमाः राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनु पर्ने भएकाले बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैं अवधिभर लागूू हुने गरी ठूूला भारबाहन सवारी साधनह (१२ चक्के र सोभन्दा माथि) सञ्‍चालन नगर्न नगराउन अनुरोध गर्ने तथा खाध्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने गराउने।

-स्तरोन्नति तथा सुधार सम्बन्धमाः मुलुकभरीका मुख्य सडकहरुलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपदहरुको व्यवस्थापन गर्न आवश्यक समाग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल-नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुई तर्फी यातायात सञ्चालन गर्न, नारायणगढ- मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमाल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँ अगाडि नै सञ्‍चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न गराउन सडक विभागलाई निर्देशन दिने।

-आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने।

-कार्यविधि/ निर्देशिका सम्बन्धमाः सार्वजानिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि/ निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेस गर्न निर्देशन दिने।

-कन्ट्रोल रुम सम्बन्धमाः मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्‍चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने।

प्रकाशित: ४ आश्विन २०८२ १६:५९ शनिबार