विदेशमा रहेका नेपाली नागरिक तथा अन्य इच्छुक दाताले अब अनलाइन माध्यमबाट सिधै नेपाल सरकारको राहत कोषमा आर्थिक सहयोग गर्न सक्ने भएका छन्।
सरकारले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विदेशबाट समेत सहज रूपमा सहयोग गर्न सकिने गरी नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार विदेशमा रहेका नेपाली तथा अन्य दाताले कार्ड, बैंकिङ एप, डिजिटल वालेटलगायतका माध्यमबाट सिधै सरकारको राहत कोषमा रकम जम्मा गर्न सक्नेछन्। यसका लागि PMDRF.NCHL.COM.NP पोर्टलमार्फत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ।
हाल रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलगायत विभिन्न प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका काम भइरहेका बेला सरकारले आर्थिक सहयोग जुटाउन उक्त पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।
सरकारको आह्वानसँगै विभिन्न व्यावसायिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था र आमनागरिकले राहत कोषमा सहयोग गरिरहेका छन्। विदेशमा रहेका नेपाली तथा अन्य दाताबाट पनि ठूलो संख्यामा सहयोग आउने अपेक्षासहित अनलाइनमार्फत सिधै रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको हो।
सरकारका अनुसार नयाँ पोर्टलमार्फत प्राप्त हुने सहयोगलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा संकलन तथा परिचालन गर्न सहज हुनेछ। विशेषगरी विदेशमा रहेका नेपाली तथा विपद् प्रभावितलाई सहयोग गर्न इच्छुक विदेशी दातालाई रकम पठाउन सहज हुने अपेक्षा गरिएको छ।
सरकारले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आधिकारिक माध्यमबाटै राहत रकम उपलब्ध गराउन आग्रह गरेको छ।
प्रकाशित: ११ भाद्र २०८३ १७:१६ बिहीबार