अर्थ

सरकारद्वारा भदौ २४ गतेको विध्वंशपछिको पुनर्निर्माणका लागि सहयोग आह्वान

अर्थ मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा अराजक समूहले गरेको विध्वंश पुनर्निर्माणका लागि सहयोगको आह्वान गरेको छ। अर्थ मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै जेन–जी आन्दोलनका क्रममा भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि तय गरिएको पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेको हो। 

यसअघि सरकारले पुनर्निर्माणमा आवश्यक स्रोत व्यवस्था गरी पुनर्निर्माण, राहत र पुनः स्थापना सम्बन्धीका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको थियो। 

सोहीअनुसार भौतिक पूर्वाधार पुनर्निर्माण कोष निर्माण भएको र त्यसमा योगदान गर्न अर्थ मन्त्रालयले आह्वान गरेको हो। 

‘जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठुलो क्षति भएको छ,’ अर्थ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ ।’ 

यसै गरी कोषमा सहयोग गर्न प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई योगदानको आह्वान गरिएको छ। 

कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा खाता खोलिएको छ। विज्ञप्तिमै खाताको क्युआर कोड पनि राखिएको छ। 

प्रकाशित: ८ आश्विन २०८२ १८:४८ बुधबार