सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाका त्रिनगर बाट आयात हुने वस्तुको तुलनामा निर्यात न्यून रहेको छ। गत आर्थिक वर्षमा निर्यात भएको भन्दा २२ गुना भन्दा बढी मूल्य बराबरको वस्तु आयात भएको छ।
त्रिनगर भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/०८३ मा २९ अर्ब ४० करोड ४५ लाख रुपैयाँ मूल्यको बस्तु यो नाकाबाट आयात भएको छ।
निर्यात भएको वस्तुको मूल्य जम्मा १ अर्ब २९ करोड ७७ लाख मात्र रहेको छ। त्रिनगर नाकाबाट निर्यात हुनेमा कच्चा पदार्थ, कत्था, पिना र सल्लाको खोटो लगायतका बस्तु मात्र रहेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी प्रकाश तिमिल्सिनाले बताएका छन्।
४४ करोड २७ लाख मूल्यको रोजिन, २१ करोड ६६ लाख मूल्यको कत्था, २१ करोड ५४ लाख मूल्यको खरी, १२ करोड ७८ लाख मूल्यको ‘लिक्वीड’ कत्था निर्यात भएको उनले बताए।
यसैगरी, ३२ करोड ९० लाख मूल्यको खयरको कच्चा पदार्थ, १३ करोड मूल्यको पिना र १२ करोड मूल्यको टर्पेन टाइन तेल निर्यात भएको छ।
आयात हुनेमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस, नमकिन, दालमोठ लगायतका वस्तु बढी रहेको उनको भनाई छ।
११ अर्ब ८ करोड १८ लाख मूल्यको डिजेल, ३ अर्ब ३७ करोड ८५ लाख मूल्यको पेट्रोल गत वर्ष आयात भएको छ। यसै गरी १ अर्ब ८६ करोड ७२ लाख मूल्यको एलपीजी ग्याँस र ३६ करोड ९७ लाख मूल्यको हवाई इन्धन आयात भएको उनले बताए।
एक अर्ब ५१ करोड ४६ लाख मूल्यको जंकफुड, १ अर्ब २३ करोड ४८ लाख मूल्यको कागज, १ अर्ब ९३ करोड ९९ लाख मूल्यको दालमोठ, पापड, भुजिया आयात भएको तथ्यांक छ। यसै गरी ३९ करोड ६९ लाख मूल्यको तोरी आयात भएको उनले बताए।
आयात र निर्यात बिचको ठुलो अन्तरले बर्सेनि व्यापार घाटा बढ्दै गएको छ। एकातिर निर्यात गर्न सकिने बस्तु उत्पादन गर्ने उद्योग नहुँदा निर्यात बढाउन सकिएको छैन भने अर्को उत्पादन गर्न सकिने बस्तुको उत्पादन बढाएर आत्मनिर्भर हुन नसक्दा ठुलो परिमाणमा बस्तु आयात गर्नु परेको छ।
राजस्व संकलन लक्ष्यको ८६ प्रतिशत मात्र
सुदूरपश्चिमको महत्त्वपूर्ण कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य बमोजिम राजस्व संकलन गर्न सकेन। लक्ष्यको करिब ८६ प्रतिशत मात्र राजस्व संकलन भएको सूचना अधिकारी तिमिल्सिनाले बताए।
‘पेट्रोलियम पदार्थमा भन्सार शुल्क छुट हुनु र तुलनात्मक रूपमा आयात पनि घटेकाले राजस्व लक्ष्य अनुरूप उठ्न नसकेको हो’,उनले भने।
कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा ८ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरेको उनले बताए।
भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई गत आर्थिक वर्षमा ९ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। कार्यालयले उठाएको राजस्व रकम लक्ष्यको ८६.४८ प्रतिशत मात्र रहेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा पनि गत आर्थिक वर्ष राजस्व रकम संकलन घटेको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। यद्यपि लक्ष्य बढी भएकाले यो राजस्व संकलन भएको रकम लक्ष्यको ७७.६७ प्रतिशत मात्र थियो।
‘राजस्वको करिब ६५ प्रतिशत हिस्सा आयात हुने डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँस बाट प्राप्त हुने गर्छ’भन्सार अधिकृत तिमिल्सिेनाले भने।
गत आर्थिक वर्ष आयात भएका डिजेल, पेट्रोल,एलपीजी ग्याँस र हवाई इन्धनबाट ५ अर्ब ४४ करोड र ५० लाख राजस्व संकलन भएको तथ्यांक छ। निर्यात हुने बस्तुबाट भने १ करोड ८४ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ।
प्रकाशित: १९ श्रावण २०८३ १७:४५ मंगलबार